ज्योति विकास बैंकका कर्मचारीमाथिको दुर्व्यवहारप्रति सिबिफिनद्वारा कडा भर्त्सना

काठमाडौं । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले कडा आपत्ति जनाएको छ । बैंकका अनुसार, लामो समयदेखि कर्जा किस्ता नियमित नभएपछि समाधानका लागि ऋणीकै आग्रहमा छलफल गर्न पुगेका कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेको समूहले घण्टौँसम्म नियन्त्रणमा राखी दुर्व्यवहार र आक्रमण गरेको सिबिफिनले जनाएको छ । सिबिफिनले उक्त घटनालाई लज्जास्पद, घृणित र अमानवीय भन्दै कडा शब्दमा भर्त्सना गरेको छ । साथै, घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरी नलिई पीडितमाथि मिलापत्रको दबाब दिएकोप्रति पनि आपत्ति जनाएको छ ।

परिसंघले बैंक तथा वित्तीय संस्था जस्तो संवेदनशील क्षेत्रका कर्मचारीमाथि गरिएको यस्तो हिंसात्मक व्यवहारले कर्मचारीको मनोबलमा गम्भीर असर पार्ने र बैंकिङ प्रणालीमै खतरा सिर्जना गर्ने जनाएको छ । दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरिएको छ । सिबिफिनले बैंक तथा वित्तीय संस्थामाथि हुने आक्रमणलाई राज्यकै व्यवस्थामाथिको चुनौतीका रूपमा लिँदै यस्ता घटनाले बैंकिङ क्षेत्रको साख, विश्वसनीयता र सेवाप्रवाहमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ । परिसंघले बैंकिङ सेवासम्बन्धी कुनै गुनासो भए कानुनी प्रक्रियाअनुसार, बैंकको व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै कानुन हातमा लिएर हिंसा गर्नु निन्दनीय भएको उल्लेख गरेको छ । सिबिफिनले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार र गृह मन्त्रालयसँग आग्रह गर्दै सुरक्षित र निर्वाध बैंकिङ वातावरण निर्माण गर्न अपिल गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *