महाहर्षित साकोसको शेयर पुँजी र जगेडा कोष मजबुत

काठमाडौं । काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अवस्था मजबुत रहेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्दै आएको उक्त संस्थाले शेयर पुँजी र जगेडा कोषलाई बलियो बनाउँदै लगेको हो । नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिरकणले जारी गरेको निर्देशन र मापदण्डले संस्थागत पुँजीको आधारमा बचत तथा ऋणको कारोबार गर्न पाउने व्यवस्था गरेको छ । मापदण्ड अनुसार सहकारी संस्थाले प्राथमिक पुँजीकोषका आधारमा प्रति सदस्य १० प्रतिशतसम्म बचत लिन पाउने व्यवस्था छ । संस्थाले स्थापनाकालदेखि नै शेयरपुँजी र कोषहरुलाई सुदृढ बनाएर लैजाने नीति अँगालेको छ । जसका कारण संस्थाको शेयरपुँजी र कोषहरुमा हरेक वर्ष रकम वृद्धि हुँदै गएको पाइन्छ । २०८२ असार मसान्तसम्म ५ करोड ८६ लाख शेयरपुँजी रहेको संस्थामा चालु आर्थिक बर्षको मंसीर मसान्तसम्ममा शेयर पुँजी वृद्धि भई ५ करोड ९७ लाख २४ हजार पुगेको छ । त्यसैगरी साधारण जगेडा कोष १ करोड २० लाख ९० हजार र अन्य कोषहरुको रकम ८७ लाख पुगेको छ । चालु आवको मंसीर मसान्तसम्म संस्थाले २४ करोड ३६ लाख बचत संकलन गरेको छ भने २० करोड ५० लाख ऋण लगानीमा रहेको छ । संस्थामा १० करोड माथि तरलता रकम रहेको छ । संस्थामा ७८३ सदस्य आवद्ध रहेका छन् भने ३३ करोड ४२ लाख कुल सम्पत्ति पुगेको छ । मुलुकमा आएको आर्थिक मन्दीले ऋणको मागमा आएको कमिका कारण संस्थामा अधिक तरलता रहेको हो ।

आर्थिक गतिविधिमा आएको शिथिलता र राजनीतिक अस्थिरताका कारण सदस्यहरुले ऋण लिएर व्यापार व्यवसाय गर्ने चाहिरहेका छैनन् । जसको प्रत्यक्ष प्रभावले संस्थाको तरलतामा वृद्धि भएर गएको छ । सदस्यको विश्वास जित्न सफल उक्त संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी अगाडि बढेको छ । स्थानीय वुद्धिजिवी, प्रोफेशर, बैंकर र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सामुहिक प्रयासबाट स्थापना भएको उक्त संस्थाले सदस्यलाई पहिलो प्राथमिकता राखेर वित्तीय सेवा दिँदै आएको छ। संस्थाले सहकारी शिक्षाको माध्यमबाट सदस्यहरुलाई सहकारी, वित्तीय, डिजिटल र नीतिगत व्यवस्थाको बारेमा अभिमुखीकरण गर्दै आएको छ । सदस्यहरुले दिएको सुझाव र त्यसैको आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरी अगाडि बढ्ने गरेको छ । संस्थाले ऋण तथा जोखिम व्यवस्थापन, सदस्य सन्तुष्टि तथा सेवा सुधार, कर्मचारीको क्षमता विकास, जोखिम न्युनिकरण रणनीति तर्जुमा तथा भाखा नाघेको ऋण व्यवस्थापन जस्ता सबै पक्षलाई मध्यनजर गरेको छ । जसले गर्दा संस्थालाई आर्थिक मन्दीका बिचमा समेत वित्तीय रुपमा सन्तुलन कायम गरी अगाडि बढाउन सहज भएको छ । महाकाली र हर्षित दुई संस्था एकीकरण भएर बनेको महाहर्षित साकोसले सदस्यको जीवनस्तरलाई माथि उठाउन सहज र सरल रुपमा आयमूलक क्षेत्रमा बचत परिचालन गर्दै आएको छ । आफ्नै सुविधासम्पन्न भवनबाट कारोबार गर्दै आएको संस्थाले ऐन नियमका साथै नियामक निकायबाट जारी भएका निर्देशन तथा मापदण्डको अधिनमा रही संस्था सञ्चालन गर्दै आएको अध्यक्ष बालकुमार बाँस्तोला बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *