कांग्रेसको कारबाही मिनाहा भए पनि बहालको पद कायम नरहने
काठमाडौं । नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूको कारबाही मिनाहा गरे पनि बहाल पद कायम नरहने भएको छ । कांग्रेसले शनिबार अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निस्कासन, निलम्वन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफीरमिनाहा गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयनका लागि पार्टीले मातहतका कार्यसमितिहरूलाई आइतबार गरेको परिपत्रमा कारबाही मिनाहा भए पनि बहाल पद कायम नरहने उल्लेख छ । ‘कारबाही माफीरमिनाहा भएका व्यक्तिहरूको पार्टीको बहाल पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ, परिपत्रमा भनिएको छ ।
तर, शनिबार केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा अनुशासनको कारबाहीमा पर्दाका बखतको पदबारे केही उल्लेख गरिएको थिएन । ‘कारबाही माफी,मिनाहा भएका व्यक्तिहरुको पार्टीको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ, शनिबारको बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफीरमिनाहा गर्ने निर्णय गरेको थियो ।
















