राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय छ : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘बैकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा उनले बैंकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढेको उल्लेख गरे । ऋण दिने र लिने विषय कानूनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद छ । अध्यक्ष कोइरालाले कतिपय व्यक्तिले बिनाकुनै आधार ऋण मिनाहालगायत आश्वासन दिएको उल्लेख गर्दै उनले त्यसप्रकारका अतिरञ्जित विषयमा नफस्न पनि आग्रह गरे । बैंकिङ अन्य क्षेत्रको तुलनामा बढी पारदर्शी भएको र बैंकमा समस्या हुँदा अन्य क्षेत्रमा पनि असर पर्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्नेमा उनको जोड थियो । ५० हजारभन्दा बढीलाई रोजगारी दिने यो क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउन जरुरी रहेको उनको भनाइ थियो । वर्तमान समयमा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि सोअनुसार माग भने नभएको अध्यक्ष कोइरालाले उल्लेख गरे । पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक उतारचढावले पनि कर्जा प्रवाह कम भएको हुनसक्ने उल्लेख गर्दै उनले लगानीकर्ताको मनोबल पनि कमजोर भएको बताए । यद्यपि, कर्जा प्रवाहका सम्बन्धमा केन्द्रीय बैंकले पनि केही प्रयास भने गरेको उनको भनाइ थियो । त्यस अवसरमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको नियमन बढी भएको बताए ।

उनले केन्द्रीय बैंकले उदार र विवेकशील नियमन गर्न आवश्यक रहेको उल्लेख गरे । नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा राम्रो छ, यद्यपि केन्द्रीय बैंकको नीति नियन्त्रणमुखी बढी भयो कि भन्ने पनि छ, हरेक क्षेत्रमा केन्द्रीय बैंकले कडाइ गर्न खोज्नु राम्रो नहुन सक्छ। बैंकहरू स्वनियमनमा बस्नु राम्रो हुने उल्लेख गर्दैै अनावश्यक नियमहरू हटाउनुपर्नेमा उनले सुझाव दिए । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको योगदान पाँच प्रतिशत रहेको उल्लेख गर्दै उहाँले बैंकलाई स्वतन्त्र काम गर्न दिने हो भने अझ ठूलो योगदान दिन सक्ने धारणा राखे । संयोजक डा. कार्कीले नेपाल–भारतबीच खुला सीमा भएकाले नेपालीहरूले राम्रो ब्याजदर पाउने लोभमा भारतीय बैंकमा रकम जम्मा गर्न थालेकाले पुँजी पलायन हुन थालेको पनि बताए । डा. कार्कीले एउटा बैंकले गल्ती गर्दाको असर अर्को बैंकले भोग्नु परेको उल्लेख गर्दै यस्ता विषयमा केन्द्रीय बैंक सचेत हुनुपर्ने उनको भनाइ थियो । आफूले तयार पारेको प्रतिवेदनमा केन्द्रीय बैंकको संरचनागत सुधार, नियमनमा नरम नीतिलगायतका विषयमा सुझाव दिएको बताए । बैंकिङ क्षेत्र सुधारका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन सुझाव दिएको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *