एकीकृत फ्रेण्डसिप सहकारीले प्राधिकरणबाट पायो इजाजतपत्र

दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ‘सहकारी संस्थाको सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई इजाजतपत्र प्रदान गर्दै आएको छ । एकीकृत फ्रेण्डसिपले पनि बचत ऋणको कारोबार गर्नको लागि उक्त निकायबाट इजाजतपत्र प्राप्त गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम उक्त संस्थालाई इजाजतपत्र प्रदान गरेको प्राधिकरणले जनाएको छ ।

संस्थाले प्राप्त गरेको इजाजतपत्र नं. २०४८-  ००२०८ रहेको छ । संस्थाको कार्यक्षेत्र दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौं रहेको छ । २१ हजार ४ सय सदस्य आवद्ध रहेका उक्त संस्थाको गत मंसिरसम्म कुल सम्पत्ति १ अर्ब ४४ करोड ४४ लाख पुगेको छ । ११ करोड २ लाख शेयर पुँजी,७ करोड २८ लाख जगेडा कोष , २ करोड ७३ लाख अन्य कोष रहेको उक्त संस्थाले १ अर्ब २३ करोड २२ लाख बचत संकलन गरी ९५ करोड ८५ लाख ऋण लगानी गरेको छ । प्राधिकरणले गत मंसिर १० गतेदेखि सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण खुला गरेको हो । प्राधिकरणले ६० दिनको समय दिएर संस्थाहरुलाई दर्ता अभिलेखीकरण हुन अपिल गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *