पुटिनको आवासमा युक्रेनी ड्रोन आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासमा कथित युक्रेनी ड्रोन आक्रमणको दाबीप्रति प्रतिक्रिया जनाएका छन् । राष्ट्रपति पुटिनले युक्रेनी ड्रोनको समूहले आफ्नो आवास घेराउ गरेको जानकारी आफूलाई दिएको ट्रम्पले बताएका छन् । युक्रेनले भने यो आरोपलाई पूर्णरूपमा अस्वीकार गरेको छ ।
फोन गरेर पुटिनले ट्रम्पलाई दिएका थिए जानकारी
फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पुटिनले यो विषय सोमबार बिहानको फोन कुराकानीमा उठाएको बताएका थिए । ट्रम्पले मिडियासँग कुरा गर्दै भने, “तपाईंलाई थाहा छ मलाई यो कसले भन्यो रु राष्ट्रपति पुटिनले । उनले बिहानै आफूविरुद्ध आक्रमण भएको बताएका छन् । यो राम्रो होइन, मलाई निक्कै रिस उठेको छ ।”
यो गर्ने सही समय होइन :  ट्रम्प
ट्रम्पले आक्रामक कारबाही गर्नु एउटा कुरा भए पनि कसैको घरमा आक्रमण गर्नु पूर्णरूपमा फरक कुरा भएको बताए । “यो गर्ने सही समय होइन,” ट्रम्पले स्पष्ट रूपमा भने, “मलाई यो मन पर्दैन, यो राम्रो होइन । यो नाजुक समय हो, हामी हेर्छौं के हुन्छ । यद्यपि, ट्रम्पले यो दाबी गलत पनि हुनसक्ने स्वीकार गरे । उनले थप भने, “यो सम्भव छ कि यस्तो नै नभएको होस् ।”
रुसको आरोप, युक्रेनको खण्डन
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमाथि २८ र २९ डिसेम्बरको रातमा मस्कोको पश्चिममा अवस्थित नोभगोरोड क्षेत्रमा पुटिनको आवासलाई लामो दूरीका ड्रोनमार्फत निशाना बनाउने प्रयास गरेको आरोप लगाएपछि ट्रम्पको टिप्पणी आएको हो । लाभरोभका अनुसार उक्त आक्रमणमा ९१ ड्रोन प्रक्षेपण गरिएको थियो, जसलाई रुसी वायु रक्षा प्रणालीले खसालेको थियो । युक्रेनले यी आरोपहरूलाई तुरुन्तै खारेज गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई असत्य भएको बताएका छन् । जेलेन्स्कीले रुस किभमा सरकारी भवनहरूमाथि आक्रमण गर्ने वातावरण बनाउने प्रयास गरिरहेको दाबी गरेका छन् । इन्डिया टुडेबाट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *