नेपाल टेलिकमको एनटी फाइबर विद्यार्थी अफर,५ हजारमै १ वर्ष इन्टरनेट सुविधा
काठमाण्डौं । नेपाल टेलिकमले विद्यार्थीहरुलाई लक्षित गर्दै आकर्षक एनटी फाइबर विद्यार्थी अफर सार्वजनिक गरेको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थी वर्गका लागि मात्र सीमित रहेको छ । सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस अफरले देशभरका विद्यार्थीहरुमा सकारात्मक प्रभाव पारेको देखिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम (FTTH) सेवा अन्तर्गत विद्यार्थीका लागि विशेष प्याकेजको रुपमा एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याइएको हो । सामान्य एनटी फाइबर प्याकेजमा भ्वाइस, डाटा, एनटीटीभी तथा मोबाइल डाटा समावेश भए पनि विद्यार्थी अफरमा भने डाटा सेवामात्र उपलब्ध गराइएको छ । यस अफर अन्तर्गत विद्यार्थीहरुले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा १ वर्षसम्म ४,९९९ रुपैयाँमा प्रयोग गर्न सक्नेछन् ।
प्याकेजअनुसार प्रतिदिन २५ जीबी डाटा चलाउन सकिनेछ । तोकिएको डाटा सीमा नाघेपछि इन्टरनेटको स्पिड ५ एमबीपीएसमा सीमित हुनेछ । यसका लागि ५०० रुपैयाँ जडान शुल्क लाग्नेछ । साथै, विद्यार्थीहरुले एक थान ड्युअल ब्यान्ड सीपीई र अधिकतम १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिन इच्छुक विद्यार्थीहरुले माघ २२ गतेभित्र १९८ नम्बरमा सम्पर्क गरी, डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् । यो अफर वि.सं. २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीहरुका लागि मात्र लागू हुनेछ । आवेदनका क्रममा जन्म मिति खुल्ने कागजात (नागरिकता वा जन्म दर्ता), विद्यार्थी परिचयपत्र अनिवार्य पेश गर्नुपर्नेछ । नाबालिग विद्यार्थीका हकमा अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्टको प्रतिलिपि आवश्यक हुनेछ । निर्धारित समयावधि समाप्त भएपछि यो प्याकेजमा पुनः नवीकरण गर्न नमिल्ने भएकाले सेवा निरन्तरता चाहने प्रयोगकर्ताले अन्य उपलब्ध प्याकेज रोज्नुपर्नेछ ।
















