भक्तपुर जिल्ला बचत संघको संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रम सम्पन्न
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी अभियानका मुद्दाहरुमा संघको धारणाहरु राख्दै संघ संस्थालाई प्रतिकुल असर पर्ने ऐन कानुन तथा निर्देशनको संशोधनका लागि संघले कानुनी बहस पैरवी गदै आएको बताए । जारी सहकारी ऐन, कानुन तथा निर्देशन सबै सहकारीलाई न्यायोचित हुने गरी जारी हुनुपर्नेमा जंगली न्यायको अवधारणाबाट प्रेरित भएको बताए । कार्यक्रममा स्वागत मन्तव्य दिदै संघका उपाध्यक्ष जगनाथ प्रजापतिले सहकारीमा बहुनियमन र बहुनिर्देशनले सहकारीमा अन्यौलको वातावरण सिर्जना भएको बताए । उनले सहकारीमा ठगी गर्नेहरुलाई तत्काल कार्वाही गरी पिडितलाई न्याय दिनुपर्ने उल्लेख गरे ।
संघका लेखा सूपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले गठीत उपसमितिमा मनोनीत सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदसंगै जिम्मेवारी पनि थप्पिदै जाने भएकोले जिम्मेवारी वहनमा ध्यानदिनुपर्ने विचार राखे । उनले संघको हरेक क्रियाकलाप सदस्य सस्ंथा केन्द्रीत रहेकोले सदस्य संस्थाको बृद्धि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजुले संघको परिकल्पना, ध्येय, उद्देश्य र चुनौतीहरुको प्रस्तुतिकरण गरेका थिए । उनले चालु आ।व।मा सदस्य संस्थाको, संस्थागत, नीतिगत, जनशक्ति लगायतको बृद्धि विकासका लागि साधारण सभाको स्विकृत बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउदै उपसमितिको जिम्मामा रहेका तालिम तथा कार्यक्रम समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । संघले गर्दै आएको तालिम शिक्षा, कानुनी बहस पैरवी र अन्तरलगानी लगाए्यतका कार्यहरुको जानकारी गराए । उक्त कार्यक्रममा संघको १२ वटा उपसमितिमा मनोनित सदस्यहरुलाई मनोयन पत्र तथा सपथ ग्रहण समेत गरिएको थियो ।
















