शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको १६ औं साधारण सभा सम्पन्न,समग्र वित्तीय सुचाकाङ्कहरुमा वृद्धि गर्न सफल
काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले गत आर्थिक बर्षमा समग्र वित्तीय सुचाकाङ्कहरुमा वृद्धि गर्न सफल भएको छ । संस्थाले आर्थिक बर्ष २०८०।८१ को तुलनामा आर्थिक बर्ष २०८१।८२ मा सबै सूचकमा वृद्धि गर्न सफल भएको हो । संस्थाले प्रकाशित गरेको १६ औं साधारण सभाको वार्षिक प्रतिवेदनले समग्र वित्तीय सुचकहरुमा वृद्धि भएको देखाएको छ। संस्थाले गत भाद्र २८ गते नै साधारण सभाको मिति तय गरेको भए पनि मुलुकमा भएको जेन्जी आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका कारण सभा स्थगन गरको थियो । संस्थाले गत पौष ११ गते मात्र साधारण सभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत फडिन्द्रकुमार खड्काले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजीमा १०.७० प्रतिशतले वृद्धि भई १० करोड १७ लाख, कुल बचतमा २९.२७ प्रतिशतले वृद्धि भई ७४ करोड २१ लाख, ऋण लगानीमा १९.१६ प्रतिशतले वृद्धि भई ६३ करोड २९ लाख र कुल सम्पत्तिमा २०.९५ प्रतिशतले वृद्धि भई ९९ करोड ६५ लाख पुगेको छ । मुलुकमा आएको आर्थिक मन्दी र राजनीतिक अस्थिरताका कारण सदस्यहरुको व्यापार व्यवसायमा ह्रास आउँदा संस्थाको नाफामा भने केही आएको छ । आ.व. २०८०।०८१ मा संस्थाले ९ करोड ६५ लाख कुल आम्दानी गरेकोमा गत बर्ष ५.३० प्रतिशतले कमी आएर ९ करोड १४ लाख कुल आम्दानी गरेको सभामा उनले जानकारी दिए । सहकारी क्षेत्रमा आएको चुनौतीका बिचमा पनि सदस्यहरुको साथ, सहयोग र विश्वासका कारण संस्थाले आफ्नो गरिमा कायम गरी शेयर पुँजी ,बचत, ऋण लगानी र कुल कारोबारमा उल्लेख वृद्धि गर्न सकेको उनको भनाई छ । ऋण लगानी मार्फत् आउनु पर्ने ब्याजमा कमी र अधिक तरलताको अवस्थाका कारण संस्थाको नाफा घटेको उनले बताए ।

संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यले विगत पाँच बर्षदेखि नै प्रविधिलाई आत्मसात गरी अगाडि बढेको छ । सदस्यहरुले गर्ने कारोबारलाई भौतिक भन्दा पनि डिजिटल कारोबार गर्ने संस्थाको नीति अनुरुप सुभप्रवा स्मार्ट एप सञ्चालनमा ल्याएको र उक्त एप मार्फत् सम्पूर्ण सेवा लिन सकिने छ । त्यसका साथै सदस्यहरुलाई क्युआर कोड वितरण गरी कारोबारलाई थप सहज र सरल बनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व वहनमा पनि संस्थाले विभिन्न समयमा संघ संस्थालाई आर्थिक सहयोग गर्नुका साथै रक्तदान, वृक्षारोपण,निःशुल्क स्वास्थ्य शिविर, सरसफाई जस्ता थुप्रै गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष बिदुर बस्नेतको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल रहेका थिए । सभामा अध्यक्ष बस्नेतले प्रतिवेदन प्रस्तुत गर्दै सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था मात्र नभई समाजमा सकरात्मक परिर्वतन ल्याउने माध्यम भएको बताए । सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्दै आएकाले पछिल्लो समय संस्थाको समग्र सुचकहरुमा वृद्धि भएको उनको भनाई छ । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सुन्दर खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरिएको थियो ।
















