कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा शशांक कोइरालाले जानकारी दिए । पुस २६–२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गरेका गरेका थिए । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।
यस्तो छ पारित भएको नयाँ तालिका
चैत २१ – वडा अधिवेशन
चैत २५ गाउँ,नगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन
वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन
वैशाख २८, २९, ३० र ३१–केन्द्रीय अधिवेशन
















