बीवाईडी बन्यो विश्वको सबैभन्दा ठुलो ईभी कम्पनी

साङहाई । चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडी बिक्रीका आधारमा विश्वको सबैभन्दा ठुलो ईभी कम्पनी बनेको छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लालाई उछिन्दै पहिलो पटक बीवाईडी सर्वाधिक ईभी बेच्ने कम्पनी बनेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मस्कको झगडा र ईभीको खरिदमा सरकारले दिँदै आएको कर छूट अन्त्यका कारण कम्पनीको बिक्री प्रभावित भएको छ । टेस्लाले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कका अनुसार सन् २०२५ भरि कम्पनीले विश्वभर १६ लाख ४० हजार थान मात्रै ईभी बेचेको छ । सो अवधिमा बीवाईडीका २२ लाख ६ हजार थान सवारी साधन बिक्री भएका छन् । सन् २०२५ मा टेस्लाको बिक्री २०२४ को तुलनामा ९ प्रतिशतले घटेको छ । मस्कले २००३ मा विद्युतीय सवारी साधन बनाउन खोलेको टेस्लाले वर्षसम्म ईभीको विकास र बिक्रीमा परम्परागत अटो मेकरहरूलाई उछिनेको थियो । तर गएका केह वर्षयता परम्परागत सवारी साधन निर्माता कम्पनीले समेत ईभी निर्माणमा ठुलो रकम खर्चिन थालेपछि बजारमा प्रतिस्पर्धा बढेको छ । उता, चीनले पनि ईभीमा ठुलो लगानी गरिरहेको छ ।

यस्तोमा बजारमा आफ्नो वर्चश्र्व कायम राख्न टेस्लालाई कठिन भइरहेको थियो । अमेरिकाको राष्ट्रपति निर्वाचनमा मस्कले डोनाल्ड ट्रम्पलाई साथ दिनु, ट्रम्प प्रशासनका सङ्घीय सरकारलाई चुस्त बनाउने र खर्च कटौती गर्ने विभाग (डज) को जिम्मेवारी लिनु अनि धमाधम सङ्घीय कर्मचारी र खर्च घटाउने मस्कको अभियानले पनि अमेरिकामा टेस्लालाई धक्का लाग्यो । सन् २०२५ को अन्तिम त्रैमासमा कम्पनीले ४ लाख १८ हजार २२७ थान मात्रै ईभी बेचेको थियो । बिक्रीको यो आकार लगानी अनुसन्धान कम्पनी फ्याक्टसेटले हालै गरेको सर्वेक्षणमा विश्लेषकहरूले अपेक्षा गरेको भन्दा कम हो । सो सर्वेक्षणले डिसेम्बर त्रैमासमा टेस्लाले ४ लाख ४० हजार ईभी बेच्ने अनुमान गरिएको थियो । एलन मस्कले मे मै डज छाडे । उनले टेस्लाका लगानीकर्तालाई अब आफ्नो पूरै समय टेस्लालाई दिन्छु भनेर आश्वस्त पार्न यो कदम चालेका थिए । तर सेप्टेम्बरको अन्त्यमा ट्रम्प प्रशासनले ईभी खरिदमा दिँदै आएको साढे ७ हजार डलरको कर छूट अन्त्य गरेपछि कम्पनीको बिक्री अरू सुस्तायो । मस्कसँग सम्बन्ध तिक्त बन्दै गएपछि ट्रम्पले ईभीको विरोध गर्न थालेका थिए । बिक्रीमा कमी आएको भए पनि लगानीकर्ता चालकविहीन रोबोट ट्याक्सी सेवा र घरका लागि ह्युमनोइड रोबोटहरूमा कम्पनीलाई अग्रणी बनाउने टेस्ला र मस्कको महत्त्वाकाङ्क्षी योजनाप्रति आशावादी देखिन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *