जापानले बनायो १ मिनेटमै दाँत माझिदिने ‘रोबोट ब्रस
दिनमा कम्तीमा दुई पटक दाँत माझ्नु पनि कतिपयलाई झन्झटिलो लाग्छ । तर नमाझ्दा दाँत बिग्रिने डर पनि उत्तिकै हुन्छ । यदि तपाईं पनि यही समस्यामा हुनुहुन्छ भने, जापानी वैज्ञानिकहरूले विकास गरेको एउटा हाईटेक रोबोटिक टुथब्रस तपाईंका लागि समाधान बन्न सक्छ। यो टुथब्रस प्रयोग गर्न कुनै मेहनत चाहिँदैन। मुखमा एउटा माउथपिस राखेर टोक्नु मात्र पर्छ । अनि, यसले केवल एक मिनेटमै तपाइँको दाँत माझेर मोतीजस्तै टल्काइदिनेछ । यो अनौठो तथा निकै उपयोगी हुने टुथब्रस जापानको वासेदा विश्वविद्यालय रोबोटिक्स ल्याबले विकास गरेको प्रविधिमा आधारित छ । यो रोबोटिक टुथब्रसमा साना–साना धेरै ब्रस हेडहरू छन् । यिनीहरू माथिरतल तथा दायाँ,बायाँ चल्छन् । यी सबै ब्रसहेड सानो तर शक्तिशाली मोटर बाट सञ्चालन हुन्छन्। यो ब्रसले दाँतको दुवै साइड एकैपटक सफा गर्छ । साथैं हातले दाँत माझ्दा हुने असमान ब्रसिङको समस्या पनि यसले कम गर्छ । उक्त रोबोटिक टुथब्रसको तौल २२० ग्राम छ र यसमा युएसबी टाइप सी चार्जिङ सुविधा दिइएको छ । यसमा विभिन्न प्रयोगकर्ताका लागि चार वटा मोड छन् । जसमा एजी, केयरफुल, स्पेशल केयर, र चिल्ड्रेन रहेका छन् । सन् २०२२ मा जापान सोसाइटी अफ हेल्थकेयर डेन्टिस्ट्रीमा प्रस्तुत गरिएको एक अनुसन्धान अनुसार, २२.४ प्रतिशत प्लाक रिटेन्सन दर हासिल गरेको छ । यसलाई ‘राम्रो मुख स्वास्थ्य को मापदण्ड मानिन्छ । अनुसन्धानले यो टुथब्रसको सफाइ क्षमता परम्परागत टुथब्रसभन्दा राम्रो रहेको निष्कर्ष निकालेको छ । हातको मेहेनतबिनै यसबाट प्राप्त उक्त कार्यदक्षता महत्वपूर्ण उपलब्धि हो । दुई वटा पेटेन्ट सुरक्षित गरिसकेको यो रोबोटिक टुथब्रस हाल क्राउडफन्डिङ चरणमा छ । रोचक कुरा के छ भने, यसले आफ्नो लक्ष्यभन्दा झन्डै चार गुणा बढी रकम जुटाइसकेको छ । हाल यसलाई ३१ हजार ४२ जापानी येन अर्थात करिब १९९ अमेरिकी डलर मूल्यमा अर्डर गर्न सकिने बताइएको छ । यो रोबोटिक टुथब्रस सुरुमा हात चलाउन गाह्रो हुने वा शारीरिक असक्षमता भएका मानिसहरूका लागि बनाइएको थियो । तर अहिले यसले सामान्य प्रयोगकर्ताहरूको पनि ध्यान तानेको छ । विशेषगरी हातले दाँत माझ्न अल्छी गर्ने मानिसहरूका लागि यो रोजाइको सामान बनेको छ ।
















