नेपाली जनता आँखा खोल !

पछिल्लो कालखण्डमा नैतिक सङ्कट चुलिँदो अवस्थामा छ । यो स्थिति नेपालमा मात्र होइन सारा संसारमा नै देखिएको छ । शक्ति राष्टहरु नैतिकताको धरातल निकै कमजोर बनेका छन् । दुनियाँलाई तर्साएर,शक्ति देखाएर शासन गर्नेहरू सिधै अगाडि आएका छन् । झन् तेश्रो विश्वका गरिब राष्ट्रहरूमा त नैतिकताको खडेरी नै परेको छ । नैतिक मूल्य यसरी खस्किनुमा राजनीतिक क्षेत्रको बढी दोष छ । तर त्यो त परिणाम मात्र हो । यसको कारण चाहिँ शिक्षा र संस्कार हो । पारिवारिक परम्परा र प्रचलित शिक्षा नीति पनि यस्तो अवस्था आउनुको प्रमुख कारण हो । नैतिकताहीन राजनीतिले नै भ्रष्टाचार, बेथिति र विसङ्गतिलाई जमिन बनाइदिएको हो । नैतिक मूल्यमा ह्रास आउनुको पछाडि सामाजिकता,सामूहिक भावना र उत्तरदायी प्रवृत्ति अन्त्य हुनु नै हो । देश आर्थिक रूपले टाट पल्टिनुमा पनि यही नैतिक हीन प्रवृत्ति जबाफदेही छ । भ्रष्टाचार गरेर कुस्त कमाउने र कमाएपछि शानको जीवन बिताउने अवस्था रहेसम्म मुलुकको सर्वतोमुखी विकासको कल्पना पनि गर्न सकिदैंन । इमानदार, चरित्रवान् र निष्ठावान् व्यक्तिलाई विस्थापित गरेर ठग,बेइमान,भ्रष्ट र नैतिक पतन भएकाहरूलाई जमिन बनाइदिएर मुलुकको विनाश रोज्ने काम नेपालमा अझ बढी भएको छ । र,त्यो पनि राजनीतिक क्षेत्रमा अझै बढी देखिएको छ । अहिले नेपाल लोकप्रिय वादको चङ्गुलमा परेको छ । सोसल मिडियाको दुरुपयोग र त्यही सोसल मिडिया मार्फत लोकप्रिय बनेकाहरूलाई रोल मोडल बनाएर मुलुकलाई सङ्कटमा फसाउँदा देशको स्वतन्त्रता,सार्वभौमिकता र अखण्डता गम्भीर सङ्कटमा परेको छ । सामाजिक सन्तुलन खलबल्याएर व्यक्तिगत लाभ लिन खोज्नेहरूलाई बोक्ने प्रवृत्तिले देशलाई कसरी सखाप पार्ने रहेछ भन्ने कुरा नेपाली जनताले आफै देखिसके र भोगी सके । भदौ २३ र २४ गतेको महाविनाशलाई आफैले बेहोरेका नेपालीहरूले फेरी नैतिक पतन भएकाहरूलाई नै विश्वास गर्ने र तिनैलाई आफ्नो आदर्श मान्ने भुल गरे भने सर्वनाशलाई रोक्न सम्भव हुँदैन । नेपालीहरू लामो समयसम्म कुनै अपराधीले गरेको अपराधलाई सम्झी राख्दैनन् । चाँडै अपराधीले गरेका जघन्य अपराधलाई बिर्सन्छन् वा त्यसलाई क्षमा गरिदिन्छन् ।
अहिले नैतिकता नभएका तर आफूलाई नैतिक साबित गर्न चाहने तत्त्वको नकाब उत्रिएको छ । भदौ २३, २४ को महाविनाशको खण्डहर माथि खडा भएको सुशीला कार्कीको गैह्र कानुनी सरकार र त्यसका मन्त्री कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ता दलविहीन सरकारका दलीय मन्त्रीको रूपमा सार्वजनिक भएपछि सरकारमाथि नै नैतिकताको प्रश्न उठेको छ । दलको गतिविधिमा सामेल भएपछि तिनले नैतिकताको आधारमा आफैले सरकार छोड्नु पर्ने हो । तर, तिनले त्यसो गरेनन् ।आजित भएर प्रधानमन्त्रीले राजीनामा दिन दिएको निर्देशनलाई समेत अटेर गरेर पदमा बसिरहेका छन् । त्यसै गरी सहकारी ठगी समेत दर्जन आपराधिक घटनामा संलग्न रवि लामिछाने, काठमाण्डौका मेयर बालेन्द्र साह समेत नेपाली राजनीतिमा अग्र भागमा रहेका नयाँ,पुराना दलका नेताहरू नैतिक हीन र चरित्रहीन भनेर प्रमाणित हुँदा समेत तिनलाई जनताले सम्मानको नजरले हेरि राखेका छन् ।यो नेपालको लागी दुर्भाग्य कुरा हो । आफूलाई नयाँ र स्वच्छ भनेर प्रचार गर्नेहरूका काला कर्तुतलाई आँखा चिम्ली दिने नेपाली जनताले भविष्यमा यो भन्दा दर्दनाक अवस्था बेहोर्नु पर्ने निश्चित छ । नाङै सडकमा प्रदर्शन गर्ने बादशाहलाई बत्तुले बालेका झकिझकाउ बशत्रले सज्जित भनेर मानिदिनु नेपाली जनताको दृष्टि दोष हो । यो दृष्टि दोषबाट नेपाली जनता जतिसक्दो चाँडो मुक्त हुनुपर्छ । यदि त्यस्तो भएन भने नेपाललाई युक्रेन,बङ्गलादेश वा त्यस्तै साम्राज्यवादीको खेलाउना बन्ने स्थितिमा पुर्‍याउन सहयोग मिल्नेछ । पुराना दलहरूको अवस्था राम्रो छैन तर तिनको सङ्गठन छ,ती दल सिद्धान्तको आधारमा निर्माण भएका छन् । नेता बिग्रनासाथ तिनको अवसान हुँदैन । तिनलाई सच्याउन,सुधार्न सकिन्छ तर दिउँसै गाँजामा लठ पर्ने, अनेक आपराधिक दुष्कर्ममा संलग्न,आफ्नो लोकप्रियतालाई प्रयोग गरेर भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूको सुधारको कुनै गुन्जाइस हुँदैन । यो वास्तविकता नेपालीले जति सक्दो चाँडो बुझ्न जरुरी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *