बृहत् रूपमा एकताबद्ध भएर अघि बढ्न कांग्रेस संस्थापनका ३० केन्द्रीय सदस्यको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् । शुक्रबार बिहान ललितपुरमा बैठक बसेर उनीहरूले अपिल जारी गरेका केन्द्रीय सदस्य डा।डिला सङ्ग्रौला पन्तले जानकारी दिइन् । ‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ, उनीहरूले अपिलमा लेखेका छन्, ‘अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तह लाई हार्दिक अपिल गर्दछौँ। साथै केन्द्रीय सदस्यहरूले २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर राखी कांग्रेसलाई निर्वाचनमा जनताको विश्वसनीय र थप भरोसा योग्य पार्टी बनाउन पनि आग्रह गरेका थिए । परिवर्तन र रूपान्तरणका मुद्दालाई अङ्गाल्दै नयाँ सोच र दृष्टिकोण का साथ निर्वाचनमा जानुपर्ने अपिलमा उल्लेख छ । अपिल जारी गर्ने केन्द्रीय सदस्यहरूमा आङगेलु शेर्पा, सङ्ग्रौला, उदय शमशेर राणा, अर्जुन जोशी, पुष्पा भुसाल, राजेन्द्र केसी, देवेन्द्रराज कँडेल, नानु बास्तोलासहितका सदस्यहरू छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *