गान्धी आश्रममा पृथ्वी जयन्ती
काठमाण्डौं । पृथ्वी जयन्तीको अवसरमा “शान्ति ,न्याय र मिलापका लागि अन्तर सांस्कृतिक सहिष्णुता” विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भयो । बाइसे,चौबिसे राज्यहरूसमेतलाई एकीकरण गर्दै नेपाल राष्ट्रको निर्माण गर्ने बडामहाराज पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष समेत रहनु भएका केशवप्रसाद चौलागाईंले पुनः स्वराज्य र मेलमिलापको लागि लाग्नुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । राज्यको पुनर्संरचनाका समयमा जातीय राज्यको माग बढेका बेला जातीय द्वन्द्व हुन नदिन कार्यपत्र तयार गरी तीन वटा गोष्ठी गर्दै जातीय द्वन्द्व रोक्न बौद्धिक प्रयास गरिएको स्मरण गराउनु भयो । संविधान सभाबाट संविधान निर्माण भए पश्चात् गठन भएका आदिवासी जनजाति आयोग,राष्ट्रिय समावेशी आयोगहरूले तिनै तथ्यका सेरोफेरोमा रहेर अध्ययन तथा काम गरी रहेको बताउनु हुँदै जातीय ,भौगोलिक ,भाषिक र धार्मिक मुद्दा जस्ताको तस्तै रहेकोले पुनः द्वन्द्व हुन सक्ने तर्फ सचेत गराउनु भयो । जेनजी नयाँ पुस्ताले गरेको आन्दोलन र परिणामको चर्चा गर्दै अहिंसाका माध्यमले परिवर्तन गर्न आयोजक संस्थाले पहल गर्नुपर्ने कुरा बताउनु भयो । जेनजी पुस्ताका अनुसन्धानकर्ता तथा नेशनल इन्स्टिच्युट अफ इन्टरनेश्नलको अपरेसन एन्ड इन्गेजमेन्टका कार्यक्रम निर्देशक विवेकध्वज थापाले पृथ्वीनारायण शाहले २२ वर्षको उमेरमा नुवाकोट विजय गर्न सकेको कुराबाट प्रेरणा लिनु पर्ने भन्दै पृथ्वीनारायण शाहका विषयमा बोल्न पाउँदा हर्षित भएको बताउनु भयो । कहिल्यै हरेस खानु हुन्न भन्ने कुरा पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने भन्दै धेरै उदाहरणहरू दिँदै सबैलाई प्रभावित पार्नु भयो ।
डा. लक्ष्मीप्रसाद खतिवडा,पत्रकार दामोदर न्यौपाने,इन्द्र श्रेष्ठ,तेजेन्द्र प्रसाईँले शिक्षा र अहिंसा लाई पठनपाठनमा ल्याउँदै गौरवपूर्ण इतिहासको जानकारी विद्यार्थीहरूलाई गराउन पर्ने बताउनु भयो । साहित्यकार महेश प्रसाईँ,संस्कृत भाषाका विद्वान पूर्व डी आइ जी श्याम नेपाल तथा संस्कृतिविद् घनश्याम कोइरालाले संस्कृति र इतिहासलाई गान्धी र तुलसीमेयर श्रेष्ठको योगदानलाई जीवन्त बनाउने गरी अभ्यासमा ल्याउनु पर्ने बताउनु भयो । धार्मिक जागरणका लागि गान्धी तुलसीको योगदानलाई प्रचार गरिनुपर्ने कुरा विश्व हिन्दु परिषद् नेपालका नगर संयोजक तथा पूर्व प्रहरी उपरीक्षक टङ्क भट्टराईले व्यक्त गर्नु भएको थियो । सर्वप्रथम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष उदयमोहन श्रेष्ठले नेपालका गान्धीका रूपमा सम्मानित तुलसीमेयर श्रेष्ठले स्थापना गर्नु भएको ऐतिहासिक संस्था र वहाँको योगदानको स्मरण गराउनु भएको थियो । जहानियाँ राणा शासनका बेला प्रजातन्त्रको प्राप्ति र महिला शिक्षाका कारण भारतमा निर्वासित जीवन बिताउँदै महात्मा गान्धीसँग बस्न पाउने तुलसी मेयरको सदिच्छा पूर्ण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत प्रेम लामिछानेले गर्नु भएको थियो भने धन्यवाद सहित समापन मुख्य गुठियार विष्णुप्रसाद दुलालले गर्नु भएको थियो । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी,काठमाडौँ ,काँडाघारिले कार्यक्रमको आयोजना गरेको थियो ।
















