रास्वपाले उनेपासँगको सहमति अनुमोदन नगर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग गत पुस १४ गते भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको रास्वपाको सचिवालयको आकस्मिक बैठकले १२ दिनअघि भएको सहमतिको यात्रा टुंग्याएको हो । सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच बृहत् सहकार्यमार्फत मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने भन्दै रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्यका सम्भावनाहरूलाई अगाडि बढाइरहेको थियो । यही क्रममा उनेपासँग सहमति भएको जनाएको छ । तर रास्वपा सचिवालय बैठकले जारी गरेको विज्ञप्तिमा ुसहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि उनेपाबाट निरन्तर प्रस्तावहरू प्राप्त भएको उल्लेख छ । यस विषयमा शीर्ष नेतृत्व तहमा पटक–पटक बैठकहरू भए पनि एकता प्रक्रिया अगाडि बढ्न नसकेको रास्वपाको ठहर छ । रास्वपाले आफ्नो निर्णय सार्वजनिक गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको ऐतिहासिक जिम्मेवारी सत्ताकेन्द्रित अंकगणित मिलाउनु वा शक्ति बाँडफाँडको व्यवस्थापन गर्नु नभएको पनि बताएको छ । बरु लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिमा आधारित शासन, सामाजिक न्याय र समावेशी समुन्नतिका लागि साझा प्रतिबद्धता निर्माण गर्दै जनविश्वासलाई संस्थागत गर्नु रहेको पार्टीको भनाइ छ ।

यस परिस्थितिमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिँदै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग निरन्तर संवादमा रहने प्रतिबद्धता जनाएको छ । साथै आगामी निर्वाचनमा स्थापित दलहरूको जडता, स्वार्थकेन्द्रित राजनीति र असफल शासन–संस्कृतिलाई चुनौती दिन सक्ने बलियो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा रास्वपालाई अगाडि बढाउन आम सदस्य, शुभेच्छुक तथा परिवर्तन चाहने सम्बन्धित सबैलाई जोड्नका लागि हरसम्भव कोसिस गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ । १२ दिनको सहकार्यको अभ्यास अनुमोदन नभए पनि रास्वपाले उनेपाको नेतृत्व तथा सम्पूर्ण संगठनलाई आगामी दिनमा सफल यात्राको लागि शुभकामना व्यक्त गरेको छ । उनेपासँगको यत्रा टुंगिएपछि रास्वापले शनिबार साँझ आकस्मिक बैठक बोलाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *