टी–२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा तयारी गर्ने
काठमाडौं । आगामी महिनादेखि सुरु हुने आईसीसी टी–२० विश्वकपअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका र भारतमा तयारी तथा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दुई चरणको अभ्यास तालिका सार्वजनिक गर्दै नेपाली टिमको भारत र श्रीलंका तालिका सार्वजनिक गरेको हो । नेपाली टिम पहिलो चरणको तयारीअन्तर्गत जनवरी १९ देखि २४ सम्म श्रीलंकामा अभ्यास गर्नेछ ।
श्रीलंकामा नेपालले जनवरी २० मा श्रीलंका ‘ए’ सँग खेल्नेछ । यस्तै, यही टिमसँग जनवरी २२ मा दोस्रो र जनवरी २४ मा तेस्रो अभ्यास खेल खेल्ने छ । यसपछि नेपाली टिमले जनवरी २७ देखि ३१ सम्म भारतमा अभ्यास गर्नेछ । भारतमा नेपालले मुम्बई क्रिकेट एसोसिएसन प्रेसिडेन्ट–११ सँग दुई अभ्यास खेल खेल्नेछ । मुम्बईको यो टिमसँग नेपालले जनवरी २९ मा पहिलो र ३१ मा दोस्रो खेल खेल्ने छ । यो वर्षको टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म यी दुई देशमा हुने तालिका छ । प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।
















