आँट गरेर सर्लाही–४ बाट उमेदवारी दिएँ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवारी दिएको बताएका छन् । काठमाडौंमा सर्लाहीका युवासँगको छलफलका क्रममा उनले यहाँ आफूले सहजै जित निकाल्ने अवस्थामा रहे पनि आँट गरेर सर्लाही–४ बाट उमेदवारी दिएको बताएका हुन् । काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यो ठाउँको निरन्तर सेवा गरिरहने उनले उल्लेख गरे । काठमाडौंबाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उनले बताए । कांग्रेसलाई मधेसले नै वर्तमान अवस्थामा ल्याएको उनले उल्लेख गरे ।
मधेससँग मुखको औपचारिक सम्बन्ध जोडेर मात्र नहुने उनले बताए । उनले मधेसको नेतृत्व गर्ने प्रयास गरे मात्र आफू राष्ट्रिय नेता हुने धारणा राखे । आफू उक्त क्षेत्रबाट निर्वाचित भए पाँच वर्ष मधेसका निम्ति कार्य समर्पण गर्ने उनले बताए । उनले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीँबाट आफूले जनताको समस्या सुन्ने उनले जानकारी दिए । सभापति थापाले युवाको भावनालाई आत्मसात् गर्न पार्टीमा परिवर्तनको प्रयास गरेको र सफल भएको बताए । आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवार छनोटमा केही कमी–कमजोरी भए पनि कुनै आर्थिक चलखेल नभएको उनको भनाइ छ ।
















