सिम्रिक एयरले थप्यो एक नयाँ हेलिकप्टर

काठमाडौं । सिम्रिक एयर हेलिकोप्टरले एउटा एयरबसको एच१२५ (एएस३५) बीथ्रीइ हेलिकोप्टर थप गरेको छ। सिम्रिकले ९एन एओओ दर्ता नम्बरको उक्त हेलिकोप्टर सञ्चालनमा आएसँगै कम्पनीको उच्च हिमाली तथा दुर्गम भेगमा उडान गर्ने क्षमता थप सुदृढ भएको छ। विश्वव्यापी रूपमा उच्च उचाइमा उत्कृष्ट प्रदर्शन गर्ने हेलिकोप्टरका रूपमा चिनिएको एयरबस एच१२५ हिमाली उद्धार, मेडिकल इभ्याकुएसन, तीर्थयात्रा उडान, दुर्गम क्षेत्र चार्टर तथा विशेष सञ्चालनका लागि प्रयोग हुँदै आएको छ। शक्तिशाली इञ्जिन, उच्च भार वहन क्षमता र विश्वसनीयताका कारण यो हेलिकोप्टर हिमाली भौगोलिक अवस्थाका लागि उपयुक्त मानिन्छ। नयाँ हेलिकोप्टर थपिएसँगै सिम्रिक एयरले सरकारी निकाय, पर्यटन तथा ट्रेकिङ व्यवसायी, कूटनीतिक नियोग तथा दूतावास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, कर्पोरेट क्षेत्र तथा अस्पतालसहितका आपतकालीन उद्धार टोलीलाई अझ सुरक्षित र प्रभावकारी सेवा दिन सक्ने क्षमता विस्तार गरेको जनाएको छ।

कम्पनीका अनुसार एयरबस एच१२५ अत्यन्तै कठिन भू–भाग, उच्च उचाइ र प्रतिकूल मौसमीय अवस्थासमेतमा सञ्चालन गर्न सक्षम हेलिकोप्टर हो। यसले कम्पनीलाई उद्धार, चार्टर र विशेष कार्यहरूमा थप छरितो र भरपर्दो सेवा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। उक्त हेलिकोप्टर हिमाली उद्धार तथा आपतकालीन इभ्याकुएसन, उच्च उचाइमा लङलाइन उद्धार, कार्गो स्लिङ लोड उडान, ट्रेकिङ तथा चार्टर सेवा, आगलागी नियन्त्रण, हवाई सर्वेक्षण, चलचित्र तथा फोटोग्राफी, भिआइपी तथा कर्पोरेट चार्टर, तीर्थयात्रा उडान, स्काइडाइभिङलगायत विभिन्न कार्यमा प्रयोग गरिने कम्पनीले जनाएको छ। एयरबस एच१२५ थपिएसँगै सिम्रिक एयरसँग हाल तीनवटा एयरबस एच१२५ र एउटा बेल ५०५ जेट रेंजर एक्स गरी कुल चार हेलिकोप्टर सञ्चालनमा रहेका छन्। फ्लीट विस्तारले नेपालको कठिन तथा दुर्गम उडान वातावरणमा सुरक्षा, विश्वसनीयता र सेवा गुणस्तरप्रति कम्पनीको प्रतिबद्धता थप मजबुत बनाएको सिम्रिक एयरले उल्लेख गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *