आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ जना चार्टर्ड एकाउन्टेन्ट दीक्षित

काठमाण्डौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । समारोहमा १४१ जना नव–चार्टर्ड एकाउन्टेन्ट दीक्षित भएका छन् । उक्त समारोहमा महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए । समारोहमा दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रमुख अतिथि रायाले दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महालेखापरीक्षक रायाले सुशासनमार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउन नवदीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई आग्रह गरे । उनले सरकार, नियामक निकाय र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उच्च नैतिकता र पेशागत जिम्मेवारीसहित अघि बढ्नुपर्नेमा जोड दिए ।

चार्टर्ड एकाउन्टेन्ट राष्ट्रको आर्थिक विकासका लागि आवश्यक विशिष्ट पेशा भएको उल्लेख गर्दै उनले सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन सिएहरूको भूमिका महत्वपूर्ण हुने बताए । प्रविधि र उपकरणमा परिवर्तन आए पनि नैतिक मूल्य र पेशागत स्वतन्त्रतामा सम्झौता गर्न नहुने उनको भनाइ थियो । विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले हाल सरकारी वित्तमा केही दबाब देखिए पनि बाह्य क्षेत्र सन्तुलित रहेको र मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेकाले समग्र अर्थतन्त्रप्रति अत्यधिक चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । समारोहमा आइक्यान अध्यक्ष सिए निलबहादुर सारु मगरले नवदीक्षित सिएहरूलाई स्वागत गर्दै संस्थाले हालै सिए वर्ल्डवाइडको सदस्यता प्राप्त गरेको, ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल’ परियोजना सुरु गरेको, पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न गरेको तथा विश्वविद्यालय अनुदान आयोगसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको जानकारी दिए । साथै लेखा व्यवसायीको दायरा विस्तारका लागि विभिन्न पहलहरू भइरहेको उनले उल्लेख गरे। कार्यक्रमका अवसरमा आइक्यानद्वारा आयोजित क्विज तथा पब्लिक स्पिकिङ प्रतियोगिताका विजेताहरूलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *