भक्तपुर सुसेली मञ्चको १५औँ शृङ्खला सम्पन्न,सुसेली मञ्चका सहसचिव तथा गीतकार ढुङ्गेल सम्मानित

भक्तपुर । भक्तपुर सुसेली मञ्चको आयोजनामा १५औँ रचना वाचन शृङ्खला सम्पन्न भएको छ । शृङ्खलामा हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष एवम् फित्कौली डटकमका सम्पादक नरनाथ लुईटेलले दुई वटा हास्यव्यङ्ग्य कविता वाचन गर्दै देशको वर्तमान अस्तव्यस्त अवस्थाको प्रमुख कारण राजनीतिक अस्थिरता भएको बताए। उनले गाउँ रित्तिँदै जानु, विकासमा अग्रगतिभन्दा अवनति बढ्नु तथा त्यसको निराकरणका लागि स्रष्टाहरूले निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा नयाँ र पुराना स्रष्टाबीचको सिर्जनात्मक मिलनलाई पनि विशेष रूपमा जोड दिइयो। अन्तर जिल्ला चाँगुनारायण सम्पर्क समितिका नरेन्द्र पोखरेलले अन्यत्रबाट बसाइँ सरी आएका नागरिकको अवस्था, देश र व्यवस्थाप्रतिको चिन्तालाई समेटिएको कविता वाचन गरे। विशेष अतिथिका रूपमा मन्तव्य राख्दै चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुकांले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै यस्ता साहित्यिक कार्यक्रमहरूले स्रष्टा र पाठकबीच सेतुको काम गर्ने बताए।

विशेष अतिथि फुलब्राइट स्कूलकी प्रिन्सिपल एलिना दाहालले विद्यालयस्तरमा हुने साहित्यिक गतिविधिले विद्यार्थीको सिर्जनशीलता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्। कार्यक्रममा श्याम माकजु, विद्यार्थी प्रयास खतिवडा, आकृति न्यौपाने, इभाना दाहाल, तथा भक्तपुर सुसेली मञ्चका सदस्य सालिकराम दाहालले कविता वाचन गरेका थिए। कार्यक्रममा चाँगुनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक दधिराम गेलाल, स्रष्टा टीकाराम गेलाल, महोत्तरी बुढ्यौली साहित्य समाजका अध्यक्ष लालबाबु पोखरेल, स्रष्टा कृष्ण भण्डारी तथा ज्येष्ठ नागरिक टंकप्रसाद दाहालको उपस्थिति थियो। सहभागीहरूले समसामयिक विषयवस्तुमा आधारित कविता वाचन गर्दै समाज र राजनीतिले सिर्जनामा पार्ने प्रभावबारे विचार व्यक्त गरे। सो अवसरमा भक्तपुर सुसेली मञ्चका सहसचिव तथा गीतकार विश्वनाथ ढुङ्गेललाई सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालन आयोजक समितिका सचिव डिल्लीप्रसाद मूलतिहुनले गरेका थिए। आयोजक समितिका अध्यक्ष तथा सभापति रामशरण न्यौपानेले सुसेली साहित्य सरल तर प्रभावकारी विधा भएको उल्लेख गरे। भक्तपुरको झौखेलस्थित फुलब्राइट स्कूलमा सम्पन्न कार्यक्रमको समापनमा मञ्चका कोषाध्यक्ष बिके माकजुले धन्यवाद ज्ञापन गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *