भारतबाट एलपी ग्यास आपूर्तिमा असहजताहुँदा बजारमा अभाव

काठमाण्डौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार नेपालमा मुख्यतः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुँदै आएको छ । तीमध्ये मथुरा रिफाइनरीबाट भने नियमित रूपमा कोटाअनुसार ग्यास आइरहेको छ । तर बरौनी रिफाइनरीमा पुरानो प्लान्टका कारण बारम्बार मर्मत आवश्यक पर्ने भएकाले बीच–बीचमा दुई–चार दिनसम्म ग्यास लोड नै हुन नसकेको निगमको भनाइ छ । यस्तै, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि अहिले बरौनीबाट सीमित मात्रामामात्रै ग्यास आउन थालेको स्विकार गरे । ‘पारादीप र दुर्गापुर रिफाइनरीबाट पनि अपेक्षाभन्दा कम आपूर्ति भइरहेको छ । जाडोयाममा भारतमै पनि ग्यासको खपत बढ्ने भएकाले आईओसीले पहिला आफ्नै आन्तरिक माग पूरा गरेपछि मात्र नेपालतर्फ आपूर्ति गर्ने चलन रहेकाले समेत समस्या बढेको हो ।

जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको खपत सामान्य समयको तुलनामा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ । नेपालमा प्रतिमहिना करिब ४७–४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्नेमा चालु महिनामा आयात ४२–४३ हजार मेट्रिक टनमा सीमित हुने अनुमान गरिएको छ । यसरी चार–पाँच हजार मेट्रिक टनसम्म ग्यास कम आयात हुँदा बजारमा अभाव देखिएको चन्दले जानकारी दिए । अर्कोतर्फ, बरौनीबाट ग्यास नपाउँदा पारादीप (ओडिसा) जस्ता टाढाका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने अवस्था आउँदा ढुवानीका साधनको अभाव पनि समस्या बनेको चन्दको भनाई छ । उनका अनुसार गाडी समयमै नपुग्दा लोडिङ प्रभावित भएको छ । चन्दकाअनुसार ग्यास आयातमा देखिएको समस्या करिब २०–२५ दिनदेखि रहे पनि बजारमा भने पछिल्लो एक–डेढ हप्तादेखि मात्र प्रत्यक्ष प्रभाव देखिन थालेको हो । अहिले उपलब्ध गाडी प्रयोग गरी ग्यास ल्याउने प्रयास तीव्र पारिएको र क्रमशः आपूर्ति सुधार हुँदै गएको उनले बताए । यो समस्या धेरै दिन लम्बिँदैन, अब एक–डेढ हप्ताभित्र आपूर्ति क्रमशः सामान्य अवस्थामा फर्किनेछ, निगम स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *