बिन्धवासिनी साकोसको ३३औँ स्थापना दिवस सदस्य हित, सुशासन र सामाजिक उत्तरदायित्वको सन्देश
काभ्रे । खोपासीबाट सुरु भई हाल बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ स्थापना दिवस विविध सामाजिक, शैक्षिक र संस्थागत कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसका अवसरमा पनौती १ स्थित शान्ति निकेतन माविमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। शैक्षिक बाल बचतकर्ताहरूबीच “आजको आवश्यकता, सहकारी शिक्षा” विषयक सेवा कार्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। त्यसैगरी खुला रक्तदान कार्यक्रम, कर्मचारी तथा पदाधिकारीहरूका लागि नेतृत्व, सुशासन र मानव पूँजी उत्कृष्टता सम्बन्धी अनुशिक्षण कार्यक्रम तथा विभिन्न विधामा सम्मान–पुरस्कार वितरण गरिएको थियो। वि.सं. २०५० कार्तिक २९ गते स्थापना भई २०५० फागुन ६ गते विधिवत दर्ता भएको मितिलाई आधार मानी संस्थाले प्रत्येक वर्ष फागुन ६ गते स्थापना दिवस मनाउँदै आएको छ।
अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष भरतप्रसाद शर्माले सहकारी सदस्यको हितमा केन्द्रित संस्था भएको उल्लेख गर्दै सहकारीले बैंकजस्तै केवल बचत र ऋण कारोबारमा सीमित नभई सदस्यको जीवनस्तरसँग प्रत्यक्ष जोडिनुपर्ने धारणा व्यक्त गरेका थिए। प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तानले संस्थाको ३२ वर्षे यात्राको समीक्षा गर्दै सानो सुकुल र ट्याङ्काबाट सुरु भएको संस्थाले हाल काभ्रे लगायत उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गरेको जानकारी दिनुभयो। हाल ६० हजार १३१ सदस्य र १२ हजार ३५१ शैक्षिक बाल बचतकर्ता गरी कुल ७२ हजार ४८२ जनालाई सेवा दिइरहेको संस्थाको शेयर पूँजी ५३ करोड ८४ लाख ९९ हजार, बचत ४ अर्ब १८ करोड २ लाख ३६ हजार तथा जगेडा र अन्य कोष ६० करोड १४ लाख ८१ हजार रुपैयाँ रहेको छ। संस्थाको कुल कारोबार ५ अर्ब ४८ करोड ८७ लाख १ हजार रुपैयाँ पुगेको जनाइएको छ। संस्थाले राहत, बीमा तथा सुरक्षण सेवा, आयमूलक र सीपमूलक तालिम, स्वास्थ्य शिविर, अन्धोपन निवारण कार्यक्रम, निःशुल्क रक्ततत्व वितरण, सहुलियत ब्याज अनुदान, कृषि परामर्श तथा सामाजिक कार्यमार्फत सदस्य केन्द्रित सेवा विस्तार गर्दै आएको जनाएको छ। कार्यक्रममा संस्थापक अध्यक्ष भरतप्रसाद शर्मालाई नगदसहित सम्मान गरिएको थियो। २४ जना पूर्व सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति सदस्य, १८ जना निर्वतमान पदाधिकारी, उत्कृष्ट सेवा कार्यालय र कर्मचारीहरूलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो। यसै अवसरमा संस्थाका सदस्यलाई आवश्यक पर्दा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरिएको छ। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
















