पश्चिम नवलपरासीको विकास र समुन्नतिका लागि विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं । नवलपरासी (बसुप) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले क्षेत्रको दीर्घकालीन विकास र समुन्नतिलाई केन्द्रमा राख्दै विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । आफ्नो तीन वर्षे कार्यकालको ‘रिपोर्ट कार्ड केही समय अघि सार्वजनिक गरेका चौधरीले अबको कार्यदिशा, प्राथमिकता र कार्यान्वयन रणनीतिसहितको प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले देशको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति, ‘जेन जी आन्दोलनपछि चर्किएको परिवर्तनको माग तथा नवलपरासी पश्चिमका मतदाताको अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले प्रतिज्ञापत्र तयार गरिएको जनाएका छन् । प्रस्तुत प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–व्यवसाय, पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलगायत क्षेत्र समेटिएको छ। शिक्षातर्फ प्रत्येक पालिकामा कम्तिमा एक सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। डिजिटल कक्षा सञ्चालन, ई–लाइब्रेरी स्थापना, विज्ञान तथा प्रविधि प्रयोगशाला विस्तार र प्राविधिक तथा सीपमूलक शिक्षालाई विद्यालय तहदेखि नै प्राथमिकता दिने नीति लिइने जनाइएको छ। उच्च शिक्षालाई स्वदेशमै प्रतिस्पर्धी र गुणस्तरीय बनाउने, निजी र सामुदायिक शैक्षिक संस्थाबीच सहकार्यको मोडेल विकास गर्ने तथा विद्यार्थी पलायन रोक्न रोजगारीसँग जोडिएको शिक्षा प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ। शिक्षक तथा विद्यालय कर्मचारीका सेवा–सुविधा र माग सम्बोधन, शिक्षा ऐन पारित गर्न पहल, तथा युवाको प्रतिभा प्रस्फुटनका लागि खेलकुद मैदान, कभर्ड हल र प्रशिक्षण केन्द्र निर्माणमा विशेष जोड दिइने उल्लेख छ। स्वास्थ्य क्षेत्रमा प्रत्येक नागरिकलाई सुलभ र गुणस्तरीय सेवा सुनिश्चित गर्ने लक्ष्यसहित योजना अघि सारिएको छ। अव्यवस्थित खोप केन्द्रको स्तरोन्नति, गाउँघर क्लिनिक सञ्चालन, ट्रमा सेन्टर र नगर अस्पताल शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ। डायलासिस सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य सेवामा सुधार, ‘एक विद्यालय, एक नर्स कार्यक्रम कार्यान्वयन तथा एम्बुलेन्स सेवा सुदृढीकरण गरिने बताइएको छ। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै दाबी भुक्तानी प्रक्रियालाई सरल र पारदर्शी बनाउने, रगत अभाव हटाउन रक्तसञ्चार केन्द्र सुदृढ गर्ने तथा सर्पदंश र रेविजविरुद्धको खोप सहज रूपमा उपलब्ध गराउने योजना पनि समेटिएको छ। कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै नवलपरासीलाई केरा र उखु जोनका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सिँचाइ सुविधा विस्तार, कृषकलाई सहुलियत कर्जा, बीउ–बिजन र मलमा अनुदान तथा कृषि बीमा प्रभावकारी बनाउने नीति अघि सारिएको छ। कृषि उत्पादनको ग्रेडिङ र ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने, चिस्यान केन्द्र र भण्डारण गृह स्थापना गर्ने तथा बाँझो जमिनको उपयोगमार्फत उत्पादन वृद्धि गर्ने योजना समेटिएको छ। युवालाई कृषिमा आकर्षित गर्न ‘युवा कृषि उद्यम कार्यक्रम, तालिम, प्रविधि हस्तान्तरण र स्टार्टअप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। औद्योगिक ग्राम स्थापना गरी स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।

स्टार्टअप कर्जा, सीपमूलक तालिम, सहुलियत ब्याजदर तथा लगानीमैत्री वातावरण निर्माणमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। वैदेशिक रोजगारीमा जाने युवालाई सीप प्रमाणिकरण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा फर्किएका श्रमिकलाई उद्यममा लगानी गर्न प्रोत्साहन गर्ने नीति पनि समावेश गरिएको छ। पूर्वाधारतर्फ हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने, पालिका रिङरोड निर्माण, चार लेन सडक विस्तार तथा वैकल्पिक मार्ग स्तरोन्नतिमा प्राथमिकता दिइने जनाइएको छ। सिंचाइ नहर, खानेपानी आयोजना, विद्युत् वितरण सञ्जाल विस्तार तथा ‘एक घर, एक धारा अभियानलाई तीव्रता दिने योजना अघि सारिएको छ। डुबान तथा नदी कटान नियन्त्रणका लागि दीर्घकालीन तटबन्ध र जल व्यवस्थापन योजना कार्यान्वयन गरिने उल्लेख छ। पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधारका रूपमा अघि बढाउँदै झोलुंगे पुल, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र पूर्वाधार विकास गरिने बताइएको छ। लुम्बिनी सर्किटसँग क्षेत्रलाई जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, होमस्टे प्रवर्द्धन, स्थानीय कला–संस्कृति संरक्षण तथा पर्यटनसँग जोडिएको रोजगारी सिर्जना गर्ने योजना समेटिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै सुरक्षित मातृत्व, पोषण कार्यक्रम र सामाजिक सुरक्षा भत्ता वृद्धिलगायत कार्यक्रम अघि बढाइने उल्लेख छ। सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउँदै भ्रष्टाचार न्यूनीकरण, ई–गभर्नेन्स प्रणाली विस्तार, नियमित सार्वजनिक बहस तथा जनगुनासो सुनुवाइ संयन्त्रमार्फत जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। चौधरीले प्रतिज्ञापत्रमा उल्लेखित योजनालाई चरणबद्ध कार्यान्वयन तालिकासहित अघि बढाइने दाबी गर्दै नवलपरासी ९बसुप०–१ लाई शिक्षा, स्वास्थ्य, कृषि र उद्योगमा नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य लिएको बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *