रवि लामिछानेलाई कालो झण्डा देखाइयो
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई शुक्रबार उनीहरुले मुख्य सडकमै कालोझण्डा देखाएर प्रदर्शन गरेका हुन् । के कारणले कालो झण्डा देखाएको भन्ने खुलेको छैन । उक्त क्षेत्रका उम्मेदवार मञ्जिल रानाले कालो झण्डा देखाउने पार्टीको आधिकारिक कार्यक्रम नभएको बताएका छन्। प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले अवरोध गरेपछि केही समय धकेलाधकेल भएको थियो । प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्ताहरूलाई नियन्त्रणमा समेत लिएको छ । विरोधमा रहेका उज्यालो नेपाल पार्टीका महिला कार्यकर्तालाई प्रहरीले हातपात गरेको भन्दै विरोधमा उनीहरू दमौलीको मुख्य चोकमा जेब्रा क्रसिङमा नै धर्नामा बसेका थिए ।
















