श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावलीअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको छ । आईपीओ निष्काशन कार्यका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। आइतबार सम्पन्न सम्झौतामा श्री स्टील्स लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको जनाइएको छ । श्री स्टील्स लिमिटेड पूर्ण स्वचालित प्लान्टमार्फत टीएमटी रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको कम्पनी हो । भौगोलिक जटिलता र भूकम्पीय जोखिम उच्च रहेको नेपालमा बलिया संरचना निर्माणको आवश्यकता औंल्याउँदै कम्पनीले अत्याधुनिक जापानी प्रविधिमा आधारित सिक्स–स्ट्यान्ड ब्लक मिल प्रयोग गरी उत्पादन गर्दै आएको जनाएको छ । विश्वस्तरीय प्रविधि प्रयोग गरेर गुणस्तरीय उत्पादनमार्फत नेपालको औद्योगिक आधार मजबुत बनाउने, फलाम तथा रडजन्य सामग्रीमा देशलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *