बदलिएको कांग्रेसले नै मुलुकलाई निकास दिनेछ
विनोद चौधरी, उमेदवार–नवलपरासी (सुस्ता पश्चिम) १
फोर्ब्सको सूचीमा रहेका नेपालका एकमात्र डलर अर्बपछि विनोद चौधरी प्रतिनिधिसभामा प्रतिनिधित्वका लागि दोस्रोपल्ट नवलपरासी सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा उमेदवार रहेका छन् । यसअघि पनि उनी सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । उनले यसपल्ट पनि आफ्नो जित सुनिश्चित रहेको बताउँदै कांग्रेस एक्लैले सरकार बनाउने अवस्था आए आश्चर्य नमान्न आग्रह गरे । प्रस्तुत छ, चुनावी अभियानमै रहेका कांग्रेस नेता चौधरीसँग गरेको कुराकानीको सम्पादित अंशः
– २०७९ को निर्वाचन जित्नुभयो, २०८२ मै फेरि ‘टेस्टेड’ हुन आउनुपरेको छ, कस्तो लागिरहेको छ ?
यो अलि असहज सिचुएसन त हो नै, किनकि कतिपय मेरा योजनाहरू बाँकी नै थिए । अझै समय पाएको भए यहाँका बेसिक फन्डामेन्टल प्रबलम (आधारभूत आवश्यकता)हरूलाई मलाई एड्रेस (सम्बोधन) गर्न सजिलो हुन्थ्यो । एउटाचाहिँ, नयाँ क्षेत्रमा आएर – त्यो पनि यस्तो एउटा नयाँ क्षेत्र कि जहाँ मेरो आफ्नो बुझाइमा ३०औँ वर्षसम्म खास केही भएन । यहाँका मान्छे ठूलाठूला ठाउँमा पुगे । धेरैचोटि जिते । तर, कहिले भौगोलिक संवेदनशीलताको नाममा त कहिले विभिन्न अरू प्रकारका कारणहरू देखाएर पन्छिए । टाढा पनि जानु पर्दैन । यही नवलपरासी पश्चिमकै क्षेत्र नम्बर–२ मा पनि उद्योगको दृष्टिकोणबाट, भौतिक संरचनाको दृष्टिकोणबाट र सामाजिक संरचनाको दृष्टिकोणबाट घर, रोजगारी, जीवनस्तर, शिक्षा, स्वास्थ्य अत्यन्तै दयनीय स्थितिमा रहँदा यहाँ म आएँ । मेरो प्रारब्धिले मलाई ल्यायो र त्यसपछि म मेरो आफ्नो सधैँ नै जुन काममा लागे पनि त्यसमा सय प्रतिशत सिरियसली लाग्ने आफ्नो एउटा बानीकै हिसाबले म यसको एउटा मास्टर प्लान कोर्न लागेँ । सबैको पार्टिसिपेसनबाट यसको एउटा फाइभ इयर्सको प्लान बनायौँ । र, हामी काममा जुट्यौँ । काममा जुट्नेबित्तिकै धेरै कुरा मैले पनि बुझ्नु थियो । मेरो पनि यो ग्राउन्डमा आएर इलेक्सन लडेको पहिलो अनुभव थियो । जेनजी मुभमेन्टपछि पार्लियामेन्ट डिजल्भ (संसद् भंग) भयो । हामीले यो ३० महिनाको दौरानमा पनि भिजिबल (देखिने) धेरै कुरा गर्यौँ । बाटोघाटोदेखि लिएर, पुलदेखि लिएर हेल्थको सेक्टरमा त झन् ट्रान्सफर्मेटिभ ट्रमा सेन्टर, डायलासिस सेन्टर, धुलिखेल अस्पतालको सहकार्यमा चिसापानीको अस्पताल र अरू जब ओरिएन्टेड पनि विभिन्न प्रकारका त्यसलाई कन्टिन्युटी दिने महत्त्वपूर्ण त्यो रोडम्याप थियो । अर्कोतर्फ, मैले देखेको यो गण्डक र सुस्ताको डुबान । त्यो प्रबलमलाई सल्भ गर्नका लागि म यहाँभित्र पहिला त्यसलाई खोतल्न थालेँ, बुझ्न थालेँ, सम्झिन थालेँ । कामहरू हुँदाहुँदै, अघि बढिरहँदा पनि पूरा गर्न भ्याइएन । योजना गरेका काम सकाउन पाएको भए मन सन्तुष्ट हुने थियो । त्यो सपना, योजना अझै छ । त्यसलाई मैले नै अघि बढाउनुपर्छ, पूरा गर्नुपर्छ भन्ने छ ।
– यसपल्ट जित्नुभयो भने सुस्ताका समस्या जति छन्, ती सबै समाधान हुनेछन् ?
एक्ज्याक्ली म त्यही भन्न गइरहेको थिएँ । हामी त्यो प्रबलमको जरोसम्मै पुग्यौँ । विथ फुल सपोर्ट एन्ड एग्रिमेन्ट अफ इन्डियन गभर्मेन्ट – इन्डियन साइडले के गर्ने, नेपाल साइडले के गर्ने भन्ने आधारमा हामीले आफ्ना प्रायोरिटीजहरू छुट्ट्यायौँ । १६० करोडको दुइटा डीपीआर पनि रेडी भो । योभन्दा अगाडिको सरकार, म यदि हाम्रो प्रायोरिटीलाई टेकेर बजेट बनाउने वातावरण बनेको भए सायद त्यो अलरेडी परिसक्थ्यो होला । त्यो बजेट र काम सुरु भइसक्थ्यो होला । त्यो हुन सकेन । एक किसिमले भन्ने हो भने इन्ट्रिमको जस्तै गभर्मेन्ट थियो । इलेक्सनको म्यान्डेट पाएको गभर्मेन्ट थियो । अब त्यो रेडी छ । त्यसको सोलुसन रेडी छ । त्यो पाँच वर्षभित्रमा यहाँका जनताले त्यो पीडाबाट सधैँको लागि एउटा समग्र समाधान पाऊन् भन्ने मेरो जुन एउटा सोच र संकल्प थियो, त्यो अधुरो रह्यो । अबचाहिँ म त्यो गर्छु भन्ने कुरामा मलाई पूरा विश्वास छ ।
अघिल्लो निर्वाचनमा आउँदा तपाईंलाई ‘टुरिस्ट’ उमेदवारका रूपमा हेरिएको थियो, योपल्ट आरोप कति लागेको छ ?
छैन, जिरो ! किनकि, म त टुरिस्ट हुने त प्रश्नै आएन । तपाईंसँग जुन घरमा बसेर कुरा गरिरा’छु, यो मेरो आफ्नै स्थायी घर हो, यो बेलानीमा । बेलानी र बर्दघाटको म एउटा बासिन्दा भइसकेँ, परासीको बासिन्दा भइसकेँ । म हरेक महिना यहाँ आउँछु । मेरो परिवार आउँछन् । यहाँ मेरो टोलका सारा छरछिमेक हरेक ठाउँमा पुग्छु, उनीहरू आउँछन् । मलाई लाग्छ कि म निकै यहाँको हावापानी, जनजीवनसँग भिजिसकेँ । मैले यो निर्वाचनको कन्टेस्टमा र योबीचमा यहाँ आउँदाखेरि कहिले पनि त्यस्तो त टिप्पणी नै सुनिनँ । तपाईंले अहिले भन्दाखेरि पो बल्ल सम्झिएँ त्यो बेलामा त्यस्तो भन्थे भनेर ।
– अहिले मतदाताकहाँ जाँदा के भनिरहेका छन् ?
दोहोरो छ कुरो त्यसमा । यो जसले जहिले पनि यहाँको राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि भजाए, लगभग त्यो शृंखला कहिले पनि गएन, सकिएन । ती मान्छेले योबीचमा पनि धेरै खेलेका रहेछन् यो पनि गरेन, त्यो पनि गरेन, यो पनि अधुरो छ, त्यो पनि अधुरो छ भन्दै छन् । तर, जो अलिकति मेरिटको आधारमा सिचुएसनलाई जज गर्छ, हिजोको ३० वर्षसम्म के भयो र अहिले ३० महिनामा के भयो भनेर, एउटा अब्जेक्टिभली जसले जज गर्छ, ती मान्छे अत्यन्तै प्रभावित छन् । र, एउटा डिप कन्भिक्सन (दृढ विश्वास) उनीहरूको यो हो कि यो मान्छेले यो ठाउँलाई साँच्चिकै ट्रान्सफर्म गर्न सक्छ ।
– अहिले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन नभएको भए तपाईं स्वतन्त्र रूपमा पनि यहाँबाट फेरि उमेदवार बन्नुहुन्थ्यो ?
सायद बन्ने थिएन होला । मैले मेरो करिबकरिब एकचोटि बीचमा तीन–चार वर्षको ग्याप भयो । त्यसको पनि लामो कथा छ । म १८ वर्ष भयो पार्लियामेन्ट्री प्रोसेसमा र कन्स्टिट्युसनल राइटिङको प्रोसेसमा इन्भल्भ भएको । तर, त्यो फर्स्ट कन्स्टिट्युसनल एसेम्बली (संविधानसभा) मेम्बर भएँ, त्यो त कुनै म पार्टीको मेम्बरसिप लिएर होइन । एउटा प्रोफेसनलको हिसाबले भएँ । आफ्नो ड्युटी मैले निभाएँ । त्यसपछि मलाई नेपाली कांग्रेसले नै आमन्त्रण गरेर बोलाएको हो । म गएँ । त्यसपछि म समानुपातिकमा क्याम्पेनिङ गरेँ, बिसौँ ठाउँमा । देशभरि मैले घुमेँ । अत्यन्तै कठिन परिस्थिति थियो त्यो बेलामा, नेपाली कांग्रेसको । र, पछि रिजल्ट पनि त्यस्तै नै रह्यो । किनकि, माओवादी र एमालेको बीचमा गठबन्धन थियो त्यो बेलामा । अनि, त्यसपछि गएर मैले के फिल गरेँ भने किन पोलिटिक्समा साँच्चिकै डिसाइसिभ, यदि कुनै भूमिका खेल्ने हो भने मैले त्यो पिपलको लेभलमै गएर त्यो म्यान्डेट लिनुपर्छ । र, पार्टीको संगठनमा पनि मेरो संलग्नता हुनुपर्छ भन्ने त्यो मैले बुझेँ । मैले त्यसपछि केन्द्रीय समितिमा चुनाव लडेँ, जितेँ । राम्रो मतले जितेँ । त्यसपछि म मैले आमनिर्वाचनमा र मेरो प्रारब्धले मलाई यो ठाउँमा पुर्यायो । तपाईंको प्रश्नमा के म एक्लै लड्थेँ त स्वतन्त्र रूपमा भन्दाखेरि, राजनीतिमा विथ आउट नम्बर देयर इज नो मिनिङ । तपाईं जतिसुकै ठूलो विद्वान् भएता पनि पार्लियामेन्टरी सिस्टममा तपाईंलाई नम्बर नै चाहिन्छ, केही गर्नका लागि ।
तपाईं पार्लियामेन्टमा फायर स्पीचहरू दिन सक्नुहुन्छ, तर त्यसले चेन्ज आउँदैन, किनभने सुन्ने मान्छे नै हुँदैन पार्लियामेन्टमा । पार्लियामेन्टको कस्तो स्थिति छ देशको त्यो त तपाईं हामी सबैले देखेकै छौँ, हैन ?
नेपाली कांग्रेसभित्रै बसेर चेन्ज ल्याउन सक्ने स्थिति मैले देखिरहेको थिएन, केही महिनाअगाडि । नेपाली कांग्रेस क्रस कन्स्टेन्टली डिटोरेट गरेर गइरहेको स्थिति थियो । कताकतै एउटा पोइन्टमा त म अब यसपालि निर्वाचन लड्दिनँ भन्नेसम्म निष्कर्षमा पुगिसकेको थिएँ । तर, यहीबीचमा जेनजीको आन्दोलन भयो । जेनजीको आन्दोलनले नै फेरि एकचोटि मुलुकलाई एउटा जोडदार झट्का दिएकै हो । पछि विभिन्न प्रकारका तत्त्वहरू त्यसमा पसे होलान् । तिनीहरूले देशका भौतिक संरचनाहरूलाई नराम्रोसँग हैन, अपूरणीय रूपमा क्षति हुने गरी भत्काए होलान् । मेरो आफ्नै घर भत्कियो । मेरो आफ्ना फ्याक्ट्रीहरू भत्कियो । वान अफ द मोस्ट बिगेस्ट भिक्टिममध्येको हाम्रो परिवार रह्यो, एउटा ग्रुपको हैसियतले ।
– यसलगत्तैको निर्वाचनमा तपाईं होमिनुभएको छ । ३० महिनाअगाडिको र यो जेनजी आन्दोलनपछिको निर्वाचनमा केही फरक पाउनुभएको छ मतदाताकहाँ पुग्दा ?
निश्चय पनि त्यो जेनजीको मुभमेन्टपछि, त्यसपछि पार्टीहरूका बीचमा जुन एकप्रकारको नयाँनयाँ पोलराइजेसनहरू भए, केही नयाँ पार्टीहरूका बीचमा आपसमा जुन पोलराइजेसनहरू भए, त्यसले एकप्रकारको सेन्सेटाइज गर्छन् नि कुनै चिजलाई, एउटा स्काम वाटर तालमा ढुंगा हान्यो भने के हुन्छ ? त्यसमा विभिन्न प्रकारका तरंग त आउँछन्, त्यो तरंग आउँछ र हराउँछ । तर, त्यो ताल जस्ताको त्यस्तै रहन्छ । त्यो प्रकारको वातावरण चारैतिर नदेखेको होइन ।
हामी भन्ने गर्छौं कि यस्ता किसिमका पार्टी, जसले ठूलाठूला कुरा गरेर हिँडिरहेका छन्, न उनीहरूको कुनै पृष्ठभूमि छ न उनीहरूको कुनै फ्युचर छ, न देखाउनका लागि कुनै ठोस कुनै ट्रयाक रेकर्ड छ । चेन्ज फर द सेक अफ चेन्जको बेसिसलाई कसैले सब्सट्यान्सियल गर्न सक्दैन । त्यसबाट चेन्ज आउँदैन । अब त खालि त्यो कुरा छर्लंगैजस्तो हुन थालिसक्यो ।
– तपाईंहरूले ‘नेपाली कांग्रेस २.०’ बनाउनुभयो, त्यो मातहत लिएर आउनुभयो, पार्टीमा के परिवर्तन देखियो ?
त्यो हाम्रो सही बाटो हो । नेपाली कांग्रेसले जे बाटो लियो, त्यो त अब जनताले, होल देशले नै अनुमोदन गरिसक्यो कि इट वाज अ राइट । जुन किसिमको एउटा नेपाली कांग्रेसको पक्षमा वेब हामी देख्छौँ, जुन प्रकारको एउटा सकारात्मक परिस्थिति बनेको छ, विश्वासको परिस्थिति बनेको छ । पार्टी बदल्यौँ । देश बदल्छौँ भन्ने कुरामा कसैले कोइसन उठाएको छैन । अत्यन्तै गम्भीर परिवर्तनको मोडमा तीनचोटि नेपाली कांग्रेसले प्रधानमन्त्रीको क्यान्डिडेटलाई पहिले नै घोषणा गरेर अगाडि बढाएको छ । सुवर्णजी जब पार्टी सभापति हुनुहुन्थ्यो, उहाँले अबको समयमा अबको पार्टी सभापति बीपी कोइराला हुनुपर्छ र प्रधानमन्त्रीको क्यान्डिडेट हुनुपर्छ भनेर उहाँ भइरहेको चेयर छोडेर उहाँलाई जबरजस्ती सभापति पनि बनाउनुभयो । प्राइम मिनिस्टर पनि बनाए । सेकेन्ड टाइममा पनि फेरि देश अलि अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको बेलामा गिरिजाबाबुलेले कृष्णप्रसाद भट्टराईलाई प्राइम मिनिस्टरियल क्यान्डिडेटको रूपमा अगाडि सारे । त्यो बेला पनि नेपाली कांग्रेसले सशक्त मेजोरिटी ल्यायो । सरकार बनायो । यो तेस्रोचोटि हो । तेस्रोचोटि पनि अब योपालि प्राइम मिनिस्टर क्लियरली ! म गगनकुमार थापाजीको कुरा गर्दै छु, हाम्रो पार्टीका सभापति । एउटा स्पष्ट सोच राखेको नेताको रूपमा मैले उनलाई हेर्छु । त्यति मात्र नभईकन एउटा नेसनल र इन्टरनेसनल पोलिटिक्स पनि बुझेको एउटा नेताको रूपमा म उनलाई हेर्छु । अर्कोतर्फ, उनको एड्भान्टेज भनेको के हो भने युथसँग रेजोनेट गर्न सक्नुहुन्छ । युथको भावनालाई बुझ्न सक्नुहुन्छ । त्यस्तो किसिमको नेतालाई अहिलेको बेलामा नेपाली कांग्रेसले अगाडि उभ्याउनु सही निर्णय थियो यो हाम्रो । १०६ नयाँ अनुहारहरू, ४८ घण्टाको समय अवधिमा विभिन्न अरू कम्प्लेक्सिटीका बाबजुद हामीले उमेदवार छान्न सक्यौँ । हामीले किन भन्दै छु भने, म पनि त्यसको संसदीय बोर्डको एउटा मेम्बर भएको हैसियतले । र, त्यति मात्र हैन कि त्यो बेलामा सांसद छान्ने क्रममा एक पैसाको पनि लेनदेन, कुनै प्रकारका अनैतिक क्रियाकलाप नभएको कुराको साक्षी म हुँ ।
– विगतका चुनावहरूमा सबभन्दा बढी आरोप कांग्रेसप्रति यही हुन्थ्यो नि !
त्यही त बदलियो भनेकै त्यही हो नि त ! कांग्रेस बदलियो भनेकै यही हो नि । यो त ठोस एउटा उदाहरण दिँदै छु म, नेपाली कांग्रेस बदलिएको । ४८ घण्टामा जसले त्यो काम गर्न सक्छ, उसले भोलिका दिनमा धेरै कुरा गर्न सक्छ भन्ने कुराको एउटा विश्वासको पुनरावृत्ति भनौँ न । जेनेरेसन त अब भयो होला भन्ठान्छु म । मैले त्यो महसुस गरेको छु । अहिलेको कार्यशैली ट्रान्सपरेन्ट रूपमा आएको हाम्रो भनौँ न, पाँच वर्षको प्लान – त्यसलाई प्रतिज्ञापत्रको नाम दिएका छौँ । र, जसरी एउटा टिमवर्क जुन बिल्डअप हुँदै गइरा’छ, मलाई लाग्छ कि यसले यो निर्वाचनपश्चात् निश्चय पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरामा हामीलाई कुनै शंका छैन । हामीले योपालि १०० सिटको आँकडा पार गर्नुपर्छ नेपाली कांग्रेसले भनेर, त्यो स्थिति अलरेडी बनिसक्यो भन्ने हाम्रो मान्यता हो । अब नेपाली कांग्रेसले एक्लैले पनि सरकार बनाउने स्थिति पुग्यो भने आश्चर्य नमान्नु होला ।
– नेपाली कांग्रेसले सरकार बनाए अबको इलेक्सनबाट विनोद चौधरीलाई हामीले कुन पदमा देख्छौँ ? र, नेपाली कांग्रेसभित्रको आन्तरिक पद स्ट्रक्चरमा विनोद चौधरीलाई हामी कहाँ देख्न सक्छौँ ?
अब यो प्रश्नको जवाफ मेरो पार्टीका नेता, पार्टीका लिडरसिप र त्यो लिडरसिपसँग जोडिएका अझ भनौँ न, हाम्रा डिसिजन मेकरहरूले दिन राम्रो हुन्छ । तर, म अहिलेको यो चेन्जको एउटा बहुतै इमिटेड, स्ट्रङ प्रोपोनेन्ट हुँ । चेन्ज हुनैपर्छ भनेर मेरो दृढ आत्मविश्वासको आधारमा आएको यो चेन्ज भएको हुनाले अब बन्ने सरकार हरकिसिमबाट सफल हुनुपर्छ । यसले आफ्नो म्यान्डेट पूरा गर्नुपर्छ । बाहिर सारेका यो प्रतिज्ञापत्रलाई पूरा गर्नुपर्छ भन्नका लागि जुनसुकै हैसियतमा पनि म त्यसमा शतप्रतिशत कमिटेड भएर काम गर्छु । यो ऊ भन्ने कुरा परिस्थिति, समय, लिडरसिपको प्रायोरिटीजले डिसाइड गर्ला ।
– तपाईं विश्वस्त हुनुहुन्छ गगन थापाले अब सरकारको नेतृत्व गर्नुहुन्छ, देश हाँक्नुहुन्छ भन्ने ?
मलाई त पूर्ण विश्वास छ । म जुन किसिमको वेभ देखिरहेको छु, कुनै पार्टीको हकमा पोजिटिभ वेभ, कुनै पार्टीको हकमा नेगेटिभ वेभ – त्यो सबै कुरालाई हिसाब गर्दाखेरि नेपाली कांग्रेसलाई अहिले सरकार लिड गर्ने स्थानमा पुर्याउनबाट कसैले रोक्न सक्ला जस्तो मलाई लाग्दैन ।
– तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा केही चुनौती ‘फिल’ गर्नुभएको छ कि छैन ?
डेफिनेट्ली फिल गर्या छु । मैले अघि नै बताएँ कि विभिन्न किसिमका पात्रहरू सक्रिय छन् । खालि आफ्नो दुनो सोझ्याउने पृष्ठभूमि रहेको ठाउँमा हामीले पार्टी सबैलाई समग्र एक ठाउँमा ल्याएका छौँ । अब त्यो रोटी सेक्ने प्रथा बन्द हुनेवाला छ भने त्यसको पीडाबाट केही मान्छे सलबलाएका छन् । अप्ठ्यारो पारेका छन् । उनीहरूले आफ्नो त्यो पुरानो दोकान बचाउनलाई लागिरहेका छन् । यो सबै कुराले एउटा नयाँ चुनौती त थप्ने नै भो । त्योबाहेक अहिलेको कुरा तपाईंले के फिल गर्नुहुन्छ होला भने, देशभरिकै समस्या हो । मल्टी पार्टी सिस्टम भएर भित्र फेरि एकचोटि आफूलाई रिकन्सोलिडेट गर्ने पोलराइजेसनको माध्यमबाट र आफ्नो ठाउँलाई फेरि सुरक्षित पार्ने एउटा ठूलो चुनौतीपूर्ण अभियानमा सबै पार्टी जुटेका छन् । जस्तो, मेरो आफ्नै पार्टीको कुरा गर्नुहुन्छ भने पनि यहाँनिर पहिला म एउटा पार्टीसँग, एउटा प्रतिद्वन्द्वीसँग चुनाव लडिरहेको थिएँ भने अहिले चार–पाँचवटा त्यस्ता पार्टी छन्, जसको एक भोट पनि यताको उता जाँदैन खानेवाला छैन । कम्पिटिटिभ पोलिटिक्सको एउटा राम्रो उदाहरण हो यो । म पोजिटिभली लिन्छु यसलाई ।
– नेपाली कांग्रेसभित्रको अन्तर्घातलाई कसरी हेर्नुभएको छ ?
मेरो क्षेत्रमा त छैन भन्ठान्छु । अरू क्षेत्रमा त्यस्तो किसिमका सम्भावनाहरू नभएका होइनन् । त्यो किसिमको काम यदि कसैले गर्यो भने आत्मघाती काम हुनेछ गर्नेहरूको लागि । यदि, कसैले त्यस्तो किसिमको काम गर्न खोज्यो भने त्यसको मुहंतोड जवाफ जनताले नै भोटिङको माध्यमबाट दिन्छ भन्ने मेरो बुझाइ हो ।
– तर, राजनीतिमा आफूभन्दा करिब २० वर्ष जुनियर नेतृत्वलाई मानेर तपाईं अगाडि बढ्नुको कारण के हो ? किन मान्नुभयो ?
हैन, त्यसलाई जुनियर पनि म भन्दिनँ । मैले अघि बताएँ नि, गगनकुमार थापाले यो पार्टीको ट्रान्सफर्मेसनमा एउटा ब्युटिफुल कम्बिनेसनलाई रेप्रिजेन्ट गर्छन् । यो करेक्सनको फेजमा त्यस्तै नेतृत्वको आवश्यकता थियो । अहिले नेपालमा ४० वर्षभन्दा कम उमेरको पपुलेसन कत्रो छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा छ । यो अहिलेको कन्टेक्स्टमा यही इलेक्सनमा पनि मलाई जहाँसम्म लाग्छ, मिनिमम १७–१८ लाख नयाँ भोटर्स एडभर्टिजमेन्ट भएका छन् । पहिलोचोटि भोट गर्दै छन् । त्यही सम्पूर्ण दृष्टिकोणबाट हामीलाई एउटा युथ विथ कम फुल एनर्जी, नालेज, एक्सपोजर र लङ स्ट्रोक पोलिटिकल प्राक्टिसको ब्याकग्राउन्ड भएकै मान्छे चाहियाथ्यो । त्यसअर्थमा म एकदमै सन्तुष्ट छु, बहुतै उत्साहित छु कि गगनकुमार थापा यो पार्टीलाई लिड गर्दै हुनुहुन्छ । र, भोलिका दिनमा गगनकुमार थापाको राजनीति अझ बढोस् । त्यसले अझ व्यापकता पाओस् । पार्टीभित्र पनि एकप्रकारको डिसिप्लिनको वातावरण बनोस्, त्यो त सबै हाम्रा नेताहरूले भन्दै आएका छन् । देखाउनको लागि सिनियर हुने तर रेस्पेक्टको नाममा यदि शून्य हुने हो भने व्यवहारमा त्यो सिनियारिटीको कुनै अर्थ हुँदैन । मैले डिजर्भ गर्ने रेस्पेक्ट मेरा नेताहरूबाट पूरा पाएको छु । र, मेरो त्यो सबभन्दा ठूलो पुँजी हो ।
– तपाईंले पहिला राम्रै मतले चुनाव जित्नुभएको थियो, अहिले कति मतले जित्छु भन्ने लागेको छ ?
१० हजार मतान्तरले जित्छु कि जस्तो लाग्छ मलाई ।
– तपाईंको प्रतिद्वन्द्वी पहिलेकै हुन्छन् कि फरक हुन्छन् ?
मेरा योपालि मल्टिपल प्रतिद्वन्द्वी छन् । कुनै एउटै ठोस त्यस्तो मैले प्रतिद्वन्द्वी देखेको छैन ।
– नेपाली कांग्रेसले बहुमत ल्याउन नसके पार्टी कस्तो भूमिकामा बस्छ ?
नेपाली कांग्रेसले आफ्नो जुन पिपलको म्यान्डेट हुन्छ, त्यसलाई ह्याप्पिली स्वीकार्छ र एउटा कन्स्ट्रक्टिभ अपोजिसनमा बस्छ । त्यो भूमिकामा बस्नुपर्छ । तर, मैले त्यसलाई कल्पना गर्ने सिनारियोको रूपमा देखिरहेको छैन ।
– भनेको सरकारमै बस्छ ?
नेपाली कांग्रेसबिनाको सरकार सायद अहिलेको बेलामा सम्भव छैन ।
– हामी तपाईंलाई निर्वाचन जित्दै हुनुहुन्छ भनेर अहिले नै शुभकामना दिन सक्छौँ ?
शुभकामना त दिनैपर्यो नि ! हामीले बहुत ठूलो एउटा आामसभाको आयोजना गर्यौँ । आदरणीय उपसभापति विश्वप्रकाशजीले त्यसलाई सम्बोधन गर्नुभयो । त्यहीँ नै यो क्षेत्रकै रास्वपाका, मसँग जसले चुनाव पनि लड्या थिए, १२ हजार भोट पनि ल्याएका थिए, जसले यहाँको संगठन पनि निर्माण गर्या थियो, उहाँ स्वयम् अब हाम्रो पार्टी जोइन गर्नुभयो र आफ्नो पब्लिक उद्घोषको बेलामा भन्नुभयो कि यो देशलाई निकास दिनका लागि नेपाली कांग्रेस नै चाहिन्छ र यो क्षेत्रको लागि विनोद चौधरी नै चाहिन्छ भनेर मैले जोइन गरेको हुँ भनेर भन्नुभएको हो । मलाई लाग्छ कि त्यो नै एउटा निर्णायक स्टेटमेन्ट र डेभलपमेन्ट हो अहिलेको निर्वाचनको लागि भन्ने मेरो बुझाइ हो । त्यति मात्र हैन, नेसनल लेभलमा यसले एउटा मेसेज दिएको छ । कुनै पनि पार्टी बनाउनका लागि धेरै समय लाग्छ, धेरै मिहिनेत लाग्छ । धेरै किसिमका त्याग, तपस्या गर्नुपर्छ । त्यो पार्टी बनाएर लिड गर्ने मान्छेले जब त्यो निर्णयमा पुग्छ भनेपछि निष्कर्ष त प्रस्ट छ ।
(बाह्रखरीबाट)















