टी–२० विश्वकप सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्यान्ड
काठमाडौँ । विश्वकप विजेताको सूचीमा आफ्नो नाम थप्न भारत र इंग्ल्यान्ड आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन् । विश्वकप विजेताहरूको खेल रहेकोले यो निःसन्देह प्रतिस्पर्धात्मक रहनेछ । किनभने घरमै ट्रफी राख्न प्रतियोगिताको साबिक विजेता समेत रहेको आयोजक भारतले कुनै कसर छोड्ने छैन । यद्यपि प्रतिष्ठाको लडाईंको रूपमा हेरिएको भारतलाई यो खेल सहज पनि हुनेछैन । सञ्जु सामसनको विशेष इनिङ्सका कारण सेमिफाइनलमा पुग्न सफल भारतले अब इंग्ल्यान्डको खतरनाक स्पिन आक्रमणको सामना गर्नुपर्नेछ । दुवै टोली आज मुम्बईको वानखेडे रङ्गशालामा हुने उच्च सेमिफाइनलमा आमनेसामने हुँदै छन् । संयोगको कुरा के हो भने यी दुवै टोलीले लगातार तेस्रो टी–२० विश्वकपको सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगिता सुरु हुँदा उपाधिको बलियो दाबेदार मानिएको भारतले बलिया टोलीविरुद्ध अहिलेसम्म शानदार खेल पस्किन सकेको देखिएको छैन । सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँगको ठुलो हारपछि टोली हच्किएको छ र रणनीति फेर्दै खेलिरहेको छ । जस्तै शीर्ष क्रममा कम्तीमा एक दायाँ हाते ब्याटर राख्ने रणनीतिका साथ सामसनलाई पुनः प्लेइङ–११ मा फर्काइएको थियो, जसको फाइदा वेस्ट इन्डिज र जिम्बावेविरुद्धको खेलमा देखियो । यस संस्करणमा समूह चरणमा इंग्ल्यान्डले सङ्घर्ष गर्नु परे पनि बलियो टिमको छवि बनाएको छ । टोलीका खेलाडीहरूसँग दबाबमा सम्हालेर खेल्न खुबी देखिन्छ । समूह चरणमा इटाली र नेपाललाई लक्ष्य नजिक पुगिसके पनि रोकेको इंग्ल्यान्डले आफ्नो कौशल देखाइसकेको छ । इंग्ल्यान्डको अर्को रोचक कुरा के छ भने यो टोली हरेक संस्करणमा सेमिफाइनलमा पुगेको छ । टोलीले विश्वकपको नौ संस्करण पूरा भइसक्दा हरेक संस्करणमा कम्तीमा सेमिफाइनलसम्मको यात्रा तय गर्दै आएको छ । इंग्ल्यान्डको बलिङ आक्रमणमा धार देखिन्छ । जोफ्रा आर्चरले सामसनलाई सर्ट बल प्रहार गरेर दुख दिन सक्छन् । त्यस्तै विल ज्याक्सले पावर प्लेमै आफ्नो अफ स्पिनबाट अभिषेक शर्मालाई दबाबमा पार्न सक्छन् । बायाँ हाते स्पिनर लियाम डसनले पनि पावर प्लेमा बलिङ गरेका छन् भने अनुभवी आदिल रसिदसँग मध्य क्रमका भारतीय ब्याटर सचेत रहनुपर्नेछ । टिममा विल ज्याक्स जस्ता अलराउण्डर छन्, जो बलिङ र ब्याटिङ दुवैमा अब्बल छन् । यस कारण टिमले गतिलो लक्ष्य दिन नसके पनि भारतलाई बलिङमा भने रोक्न सक्ने सम्भावना छ । इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र विल ज्याक्सले कठिन परिस्थितिमा व्यक्तिगत प्रतिभामार्फत टोलीलाई उकासेका छन् । अलराउन्डर साम करनले पनि राम्रो योगदान दिएका छन् । पूर्व कप्तान जोस बटलरको खराब फर्ममाथि विशेष ध्यान केन्द्रित छ, र दबाबपूर्ण खेलमा उनी पुरानो लयमा फर्कन सक्छन् कि सक्दैनन् भन्ने हेर्न बाँकी छ । यता प्रतियोगिताको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेका इशान किशन पछिल्ला खेलमा केही फिक्का देखिएका छन्, तर वानखेडेमा खेल्न अभ्यस्त उनी चम्किन उनी तयार हुनेछन् । कप्तान सूर्यकुमार यादव, तिलक वर्मा र हार्दिक पाण्ड्याका लागि पनि वानखेडे परिचित मैदान हो । आयोजकको खेल हेर्न वानखेडेको ३३ हजार क्षमताको रङ्गशाला त भरिभराउ हुने नै छ । सञ्जु सामसनको पुनरागमनले भारतीय ब्याटिङ थप आक्रामक बनेको छ। तर प्रतियोगिताअघि उत्कृष्ट लयमा रहेका अभिषेक शर्मा हालसम्म लयमा फर्कन नसक्नु टोलीको चिन्ताको विषय बनेको छ । टोलीको सन्तुलनका लागि तल्लो क्रममा झरेका तिलकले भने मध्य क्रममा आक्रामक ब्याटिङ गर्दै प्रभाव पारेका छन्, जुन उनले यसअघि नम्बर तीनमा रहँदा गर्न सकेका थिएनन् । भारतको बलिङ पनि उत्तिकै सन्तुलित देखिएको छ । ‘डेथ ओभर’ मा अब्बल प्रदर्शन गर्न सक्ने जसप्रीत बुमराह जस्ता खेलाडीको उपस्थितिले बलिङले लय समाएको छ । कप्तान सूर्यकुमारको परिपक्व कप्तानीले टिमलाई अघि बढ्न सघाउनेछ । भारत पनि सेमिफाइनल समीकरणसँग परिचित टोली हो । विश्वकपको नवौँ संस्करण पूरा भइसक्दा भारतले ६ पटकसम्म सेमिफाइनल खेलिसकेको छ । वानखेड़ेको सानो बाउन्ड्रीलाई ध्यानमा राख्दा भारतीय स्पिन जोडी अक्षर पटेल र वरुण चक्रवर्तीका लागि गल्तीको ठाउँ कम हुनेछ । ‘मिस्ट्री’ स्पिनर चक्रवर्तीले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्ध प्रभावकारी हुन नसकेपछि अझ स्थिर लाइन–लेन्थ खोज्नुपर्ने देखिन्छ । जसप्रीत बुमराह सधैँझैँ विश्व स्तरीय प्रदर्शन गरिरहेका छन्, तर डेथ ओभर बलिङमा सुधारको सम्भावना छ । बायाँ हाते स्पिनर कुलदीप यादवलाई खेलाउनु सधैँ आकर्षक विकल्प हो, तर भारतले प्लेइङ–११ मा धेरै परिवर्तन नगर्ने सम्भावना बढी देखिन्छ । भारतले प्रतियोगिताको उद्घघाटन खेल अमेरिका विरुद्ध वानखेडेमै खेलेको थियो ।
हेड टु हेड
भारत र इंग्ल्यान्डले टी–२० क्रिकेटमा २९ पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमा भारतले १७ पटक जितेको छ भने इंग्ल्यान्डले १२ पटक मात्र जितेको छ । समग्रमा भन्नुपर्दा भारत १७–१२ ले अगाडि छ । टी २० विश्वकपमा भने दुई टोलीबीच छैटौँ पटक प्रतिस्पर्धा हुन लागेको हो । यी दुईले यसअघि सन् २००७, सन् २००९ को सुपर–८, सन् २०१२ को समूह चरण तथा सन् २०२२ र सन् २०२४ को सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जस अन्तर्गत भारतले सन् २००७, २०१२ र सन् २०२४ मा इंग्ल्यान्डलाई क्रमशः १८, ९० र ६८ रनले पराजित गरेको थियो । इंग्ल्यान्डले भने सन् २००९ मा तीन रनले तथा सन् २०२२ को संस्करणमा १० विकेटले पराजित गरेको थियो । सेमिफाइनल मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार आज साँझ ७ः१५ बजे सुरु हुनेछ ।
















