एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

पोखरा । कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो । बैठक सकेर सबै बाहिरिएका थिए । जिल्ला सचिव दर्शन लामाका अनुसार बैठक सकिएर थप कुराकानी गरिरहेको क्रममा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको हो । पार्टी कार्यालयभित्र आयोजित बैठकमा नेता तथा कार्यकर्ताहरूले चुनावको टिकट बाँडफाँड र पार्टीको नतिजालाई लिएर नेतृत्वमाथि प्रश्न उठाइरहेका थिए । विशेष गरी चुनावमा एमाले नेता थापाको गतिविधि र भूमिकाबारे बैठकमा प्रश्नहरू उठेका थिए । सबैको कुरा सुनिसकेपछि नेता थापाले बैठकलाई सम्बोधन गरे । उनले अत्यन्तै सन्तुलित रूपमा कार्यकर्ताका प्रश्नको जवाफ दिए । बैठकमा सँगै रहेका प्रत्यक्षदर्शी तथा एमाले नेता टिकाराम पङ्गेनीका अनुसार सम्बोधनका क्रममा थापाले चुनावी नतिजाको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए । ‘मलाई पार्टीले टिकट दिएको हो । पछि खोसिएको पनि हो । तर पार्टीले सर्मनाक हार व्यहोर्यो । म उठेका सबै कुराको जवाफ दिन तयार छु,’ थापाको सम्बोधनलाई उद्धृत गर्दै पंगेनीले भने, ‘अहिलेको परिणामप्रति मैले जिम्मा लिनुपर्छ । म पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरे पनि भोग्न तयार छु ।’

उनले आफ्नो मन्तव्य सके र सबैलाई धन्यवाद दिए । बैठक औपचारिक रूपमा सकियो । बैठक सकिए लगत्तै नेता पङ्गेनी मञ्चमा पुगेर थापासँग हात मिलाउँदै थिए । सँगै बसेर कुराकानी गर्दागर्दै एक्कासि थापाको घाँटीबाट घुरेको अस्वाभाविक आवाज आयो । पंगेनीले भने– ‘हात मिलाउने बेलामा एक्कासि उहाँबाट घुरेको आवाज आयो । मैले शङ्का गरिहालेँ । जुत्ता खोलिदिएँ र तुरुन्तै गाडी मगायौँ । स्थिति अस्वाभाविक देखिने बित्तिकै गाडीमा राखी उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो ।’ उनका अनुसार, ९ मिनेटकै अन्तरमा उनलाई अस्पताल पुर्‍याइएको थियो । ‘उहाँले निकै सन्तुलित रूपमै आफ्ना कुरा राख्नुभएको थियो,’ पंगेनीले सम्झिए, ‘अन्तिममा हात मिलाउने बेलामै यस्तो दुःखद घटना भयो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *