इरानले इजरायलमाथि प्रहार गर्यो ‘ब्यालिस्टिक मिसाइल’
काठमाडौं । इरानले आइतबार पहिलो पटक इजरायलमाथि ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार गरेको छ । इरानले अमेरिका र इजरायलका ठेगानाहरूमा गरिएको जवाफी हमलामा आफ्नो सेजिल ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले इजरायलका सैन्य तथा रक्षा सुविधाहरूलाई निशाना बनाइएको जनाएको छ । ‘सेजिल’को अर्थ ‘जलिरहेको ढुंगा’ हो । यो ठोस इन्धन (सोलिड फ्युल)बाट चल्ने रणनीतिक मिसाइल हो, जसले दुई हजारदेखि २५ सय किलोमिटरसम्म आक्रमण गर्न सक्ने बताइएको छ । यसको गति ‘म्याक १३’भन्दा बढी रहेको बताइएको छ र यो ध्वनिको गतिभन्दा करिब १३ गुणा छिटो उड्न सक्छ । ‘द नेशनल इन्ट्रेस्ट’ पत्रिकाका अनुसार यस मिसाइलको पहुँच इजिप्ट, सुडानका केही भाग, युक्रेनको ठूलो हिस्सा, दक्षिणी रुसका केही भाग, पश्चिमी चीनको हिस्सा, भारत तथा हिन्द महासागर र भूमध्यसागरका ठूला क्षेत्रहरूसम्म पुग्न सक्छ । इरानी सञ्चारमाध्यमका अनुसार ‘सेजिल’शब्द कुरानको ‘सुराह अल–फिल’को एउटा कथासँग जोडिएको छ, जसमा ‘सेजिल’ नामका ढुंगाहरू प्रहार गरेर शत्रुलाई समाप्त पारिएको प्रसंग पाइन्छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरानले युद्धविरामको माग नगरेको बताएका छन् । उनले अमेरिकासँग वार्ताको प्रयास पनि नगरेको बताएका छन् । उनले जबसम्म आवश्यक हुन्छ, इरानले आफ्नो रक्षा गरिरहने प्रस्ट पारेका छन् । सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा उनले इरान यस संघर्षमा पछि नहट्ने बताएका छन् । जबसम्म ट्रम्पले यो गैरकानुनी युद्ध हो भनेर स्वीकार गर्दैनन्, तबसम्म इरानले जवाफ दिइरहने उनले प्रस्ट पारेका छन् ।
दुबई इन्टरनेसनल एयरपोर्टनजिकै आगलागी
दुबई मिडिया अफिसले सहरको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको एउटा इन्धन ट्यांकीमा आगलागी भएको जनाएको छ । सिभिल डिफेन्सको टोलीले सफलतापूर्वक आगोलाई नियन्त्रणमा लिएको छ । मिडिया अफिसका अनुसार यस घटनामा कोही पनि घाइते भएका छैनन् । दुबई सिभिल एभिएसन अथोरिटीले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै सावधानीका रूपमा विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकेको जानकारी दिएको छ । द इकोनोमिक टाइम,टाइम्स अफ इन्डियाबाट
















