एनआईसी एशिया बैंकद्वारा सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालन
काठमाण्डौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई थप पारदर्शी र सहज बनाउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार यस पोर्टलमार्फत बैंकिङ्ग सम्पत्ति, गैर(बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण एकै स्थानबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। बैंकले सार्वजनिक गरेको जानकारीअनुसार ग्राहकहरूले लिलाम सम्बन्धी प्रकाशित सूचनामा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी सो अनलाइन पोर्टलमा प्रवेश गर्न सक्नेछन्। उक्त पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्याप जस्ता महत्वपूर्ण विवरणहरू उपलब्ध छन्।
यसका साथै, इच्छुक ग्राहकहरूले आफूले खरिद गर्न चाहेको सम्पत्तिको थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्ने सुविधा पनि राखिएको बैंकले जनाएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार यो पोर्टल नियमित रूपमा अद्यावधिक गरिनेछ। जसअन्तर्गत लिलाममा राखिएका नयाँ सम्पत्तिहरू तथा सम्बन्धित सूचनाहरू निरन्तर प्रकाशित गरिनेछन्। यस पहलबाट ग्राहकहरूलाई लिलाम प्रक्रियामा सहभागी हुन सहजता मिल्ने, आवश्यक जानकारी पारदर्शी रूपमा उपलब्ध हुने तथा सम्पत्ति खरिद प्रक्रिया थप प्रभावकारी बन्ने विश्वास बैंकले व्यक्त गरेको छ। इच्छुक व्यक्तिहरूले उक्त पोर्टलमार्फत विस्तृत विवरण अध्ययन गरी अवसरको लाभ लिन सक्नेछन्।
















