एफएनसीसीआईको चुनाब एक दिन पर सर्यो,भावी अध्यक्ष अन्जन श्रेष्ठ

काठमाण्डौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी चुनाबी बार्षिक साधारणसभा एक दिनलाई पर सरेको छ। महासंघको कार्यकारिणी समिति को १५ औं बैठकले आगामी चुनाबी सभा एक दिन पछाडी सार्ने निर्णय गरेको जनाइएको छ। महासंघका कार्यकारी समितिका एक सदस्यकाअनुसार, बहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकालले एक महिना पछि सार्ने प्रस्ताव गरेपनि कानुनी प्राबधानअनुसार चैत मसान्तमै गर्नुपर्ने भएकाले एक दिनलाई मात्रै पर सारिएको हो। बैठकको निर्णयअनुसार, महासंघको चुनाबी साधारणसभा चैत २८ र २९ बाट एक दिन पछि धकेलेर चैत २९ र ३० गतेलाई सारिएको हो। करिब करिब तोकिएकै समयमा महासंघको चुनाब हुनेभएपछि नयाँ कार्यकारिणी समिति सदस्यका लागि हुने चुनाबमा भावी अध्यक्ष अन्जन श्रेष्ठलाई फाइदा पुगेको विश्लेषण गरिएको छ।

नयाँ कार्यकारी समिति सदस्यका लागि भावी अध्यक्ष अन्जन श्रेष्ठ र बहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकालको टिमबीच प्रतिस्पर्धा हुँदैछ। अन्जन श्रेष्ठको टिमबाट वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार घोषणा हुन बाँकी छ भने बाँकी चार उपाध्यक्ष लगायतका पदका उम्मेदवार यहि चैत ९ गते घोषणा गर्ने कार्यक्रम रहेको छ। अन्जन श्रेष्ठको टिममा जिल्ला नगर उपाध्यक्षको लागि शिव घिमिरे र दिलसुन्दर श्रेष्ठ छन् भने बस्तुगत उपाध्यक्षमा शिव घिमिरे तथा एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे रहेका छन्। त्यस्तै, चन्द्र ढकालले आफ्नो भनेर घोषणा नगरेपनि आफुहरुलाई ढकालको प्रत्यक्ष साथ् सहयोग रहेको भन्दै हेमराज ढकालले आफुलाई वरिष्ठ उपाध्यक्षमा अघि सार्दै आफ्नो टिम घोषणा गरेका छन्।

ढकालको टिममा एसोसियटमा जोत्सना श्रेष्ठ, बस्तुगतमा नरेश कटुवाल, जिल्लानगरमा उमेश दालमिया र कल्पना गैरेले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। महासंघमा तोकिएकै समयमा निर्वाचन हुने भएपछि भावी अध्यक्ष अन्जन श्रेष्ठको टिमलाई चुनाबमा फाइदा पुग्ने देखिएको छ। एकातर्फ, अन्जन श्रेष्ठका टिममा रहेका उम्मेदवारहरु तथा यो टिमलाई महासंघमा लामो अनुभव भएका बहालवाला जिल्लानगर अध्यक्ष सुरकृष्ण बैद्य तथा पूर्व जिल्लानगर अध्यक्ष दिनेश श्रेष्ठ तथा रामचन्द्र संघाईको प्रत्यक्ष साथले यो टिमलाई बलियो बनाएको छ। अर्कोतर्फ, अहिले जितेर आएका उम्मेदवारहरुलाई कुन समितिको सभापति राख्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार भावी अध्यक्ष अन्जन श्रेष्ठसंग भएकाले श्रेष्ठको टिमलाई जिताएर आफ्नो लाभ लिन चाहनेले पनि श्रेष्ठको टिमलाई साथ दिने भएकाले श्रेष्ठको टिम बलियो स्थितिमा देखिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *