गगन थापा आशाको अनुहार हुनुहुन्थ्यो,तर हामीले उहाँलाई अनावश्यक समयमा ‘एक्स्पोज’ गर्‍यौँ

नेपाली कांग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गरेका छन् । उनले निर्वाचनको मुखमा पार्टीभित्र भएको शक्ति सङ्घर्षले जनतामा नकारात्मक सन्देश गएको र त्यसैको परिणामस्वरूप कांग्रेस खुम्चिन पुगेको विश्लेषण गरेका हुन् । घिमिरेका अनुसार चुनावको तयारीमा लाग्नुपर्ने समयमा कांग्रेसका नेताहरू पाँच महिनासम्म ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्ने प्राविधिक र कानुनी लडाइँमा अल्झिएका थिए । विशेष महाधिवेशनको नाममा जे–जस्ता गतिविधि भए, त्यसले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ । निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिकता दिए पनि पार्टीको ठूलो हिस्साले त्यसलाई स्वीकार गर्न नसक्नु नै पराजयको बीउ भएको उनको तर्क छ । यसै सन्दर्भमा घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश स्

अघिल्लो महाधिवेशनले तय गरेको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भयो भन्ने समाचार आएको छ, के यो सत्य हो ?

त्यस विषयमा मलाई कुनै औपचारिक जानकारी छैन । मेरो विचारमा आधिकारिक रूपमा बैठक बोलाउने निर्णय भएको छैन । तर, अहिले साथीहरू अत्यन्तै अन्योलपूर्ण अवस्थामा हुनुहुन्छ । पार्टी नराम्रोसँग पराजित भएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित भएर केन्द्रीय समितिमा रहेका एकथरी साथीहरू अहिले भूमिकाविहीन भएर बसिरहेको अवस्था छ । यस्तो बेला केही गर्नुपर्छ भन्ने आवाज त उठेको छ, तर आधिकारिक रूपमा केन्द्रीय समितिको औपचारिक बैठक नै बोलिहाल्ने स्थिति भइसकेको छैन । राजनीतिमा अनौपचारिक भेटघाट र सम्पर्क त भइ नै हाल्छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको कुरा तपाईंलाई थाहा छ कि छैन ?

विशेष महाधिवेशनको नाममा जे–जस्तो भयो, त्यसको परिणाम हामीले भोगिसक्यौँ । चुनावको मुखमा हामी पाँच महिनासम्म ‘विशेष कि नियमित महाधिवेशन’ भनेर झगडा गरिरह्यौँ । यो झगडाले पार्टीको समग्र एकता खल्बल्यायो र जनतामा पनि नराम्रो सन्देश गयो, जुन पराजयको मुख्य कारण बन्यो । गगनजीको नेतृत्वमा पार्टी अगाडि बढ्दा निकै राम्रो परिणाम आउँछ भन्ने जुन विश्वास थियो, त्यो विश्वासको धरातल पनि टुटेको छ । सबभन्दा ठूलो क्षति त के भयो भने, अर्को निर्वाचनका लागि हामीले गगनजीको अनुहार देखाएर ठूलो जनमत सङ्ग्रह गर्न सक्थ्यौँ । उहाँ हाम्रो लागि आशाको अनुहार हुनुहुन्थ्यो, तर हामीले उहाँलाई अनावश्यक समयमा ‘एक्स्पोज’ गर्‍यौँ । यो कांग्रेसका लागि अपूरणीय क्षति हो । अब यो क्षतिलाई कसरी पुनर्जीवित (रिभाइभ) गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रा लागि ठूलो चुनौतीको विषय हो ।

विशेष महाधिवेशन अवैधानिक हो भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, यस्तो अवस्थामा हुने चलखेलले मुद्दालाई असर गर्दैन ?

मेरो बुझाइमा अहिले अदालतको निर्णय कुर्नु नै सबैभन्दा उपयुक्त विकल्प हो । नेपालको अदालतले समयमा न्याय नदिने र औचित्य सकिएपछि मात्र फैसला गर्ने परिपाटीका कारण केही विश्वास गुमाएको छ । जनविश्वास आर्जन गर्न अदालतले यो अभ्यास सुधार्नुपर्छ र यथाशीघ्र फैसला दिनुपर्छ । अदालतको फैसलापछि मात्र पार्टी एउटा निष्कर्षमा पुग्छ । त्यसपछि जसले जिते पनि पार्टीलाई एकजुट बनाएर लैजानुको विकल्प छैन । विगतमा २०१५ सालमा बीपी, सुवर्णजी र सूर्यप्रसाद उपाध्यायका फरक समूह भए पनि मिलेरै टिकट बाँडिएको थियो । २०४८ देखि २०७९ सम्मका निर्वाचनमा पनि गिरिजाप्रसाद, किसुनजी, गणेशमानदेखि देउवा(पौडेलसम्मले शक्ति सन्तुलन मिलाएरै चुनाव लडेका थिए । तर, २०८२ को निर्वाचनमा भने एकलौटी ढङ्गले टिकट बाँडियो । निवर्तमान सभापति शेरबहादुर देउवासँग समेत समन्वय गरिएन । उहाँले चुनाव लड्छु भन्दाभन्दै टिकट दिइएन । पार्टीभित्रको यो तितो यथार्थलाई स्वीकार गर्नुपर्छ । नेतृत्व बाहिरबाट आउँदैन, पार्टीभित्रैबाट आउने हो, त्यसैले सबैलाई समेटेर जानुपर्छ ।

अहिले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको बैठक बसिरहेको छ, यसले नियमित महाधिवेशन गर्ने निर्णय गर्‍यो भने देउवा पक्षलाई के असर पर्छ ?

नियमित महाधिवेशनमा जानु त बाध्यता र आवश्यकता दुवै हो । भोलि अदालतले पुरानै केन्द्रीय समितिलाई ब्युँताइदियो भने पनि वा वर्तमान समितिले नै गराए पनि नियमित महाधिवेशन हुनै पर्छ । जुन पक्षले जिते पनि पार्टीभित्र एकता कायम गरेर महाधिवेशनमा गइयो भने मात्र हामी सफल हुन्छौँ र अर्को चुनावका लागि तयार हुन सक्छौँ । होइन, ‘मैले जितिहालेँ, अब मेरै मात्र चल्छ’ भन्ने अहङ्कार राखियो भने अर्को निर्वाचनमा कांग्रेस अझै खुम्चिने सम्भावना रहन्छ ।

नियमित महाधिवेशनको घोषणा गरियो भने समानान्तर अभ्यास त गरिरहनु परेन नि ?

समानान्तर अभ्यास गरिरहनु पर्दैन । महाधिवेशनको प्रक्रिया सुरु भएपछि आ आफ्नो समूहलाई जिताउन वैचारिक समूहहरूको अभ्यास सुरु भइहाल्छ, जुन स्वाभाविक हो । त्यसले पार्टीभित्र दुईवटा समानान्तर शक्ति केन्द्र खडा गर्नुपर्ने अवस्था रहँदैन । तर, यदि कुनै पक्षले अर्को पक्षलाई पन्छाएर वा ओझेलमा पारेर हिँड्न खोज्यो भने समानान्तर गतिविधिहरू हुन सक्छन्, जसले आजको भन्दा ठूलो क्षति पुर्‍याउनेछ । अदालतको फैसला अघि अनौपचारिक छलफल हुनु बेग्लै कुरा हो, तर औपचारिक रूपमा कुनै पनि ठोस क्रियाकलाप गर्नु अहिले उचित हुँदैन भन्ने मेरो बुझाइ हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *