नेपाली कांग्रेस जोगाउने र जगाउने हो भने !
‘सप्रे खोसाखोस बिग्रे दोषादोष’ नेपाली समाजकै विशेष गुण हो । यसैले चुनाव हार्नेहरूले ङ्यारङ्यार ङुरङुर गर्न थाल्नु नौलो वा अस्वाभाविक होइन । यस्तै हारको जिम्मा लिएर पार्टी सभापतिबाट गगनकुमार थापाले राजीनामा दिनु पनि अनपेक्षित होइन । तर, अहिले नेपाली कांग्रेसभित्र जोजस्ले गगनको राजीनामाको माग गरेका छन् तिनलाई भने नैतिकरूपमा त्यो हक छैन । कारण, तिनले गगनलाई सभापति बनाएका पनि हैनन् र मानेका पनि थिएनन् । तिनले स्वामित्व नै नलिएको कार्यसमितिको सभापतिसँग खासै सरोकार नै नहुनुपर्ने हो ।
राजनीतिक जिम्मुवालहरूको छटपटी
नेपालको राजनीतिक परिदृश्यबाटै हराउँदै गएकाहरूले आफ्नो भौतिक अस्तित्व बाँकी नै रहेको देखाउन गगनको राजीनामा मागेका हुन् भने ठीकै छ । यति त गर्न पाउनुपर्छ । नेपाली कांग्रेसको क्न्द्रीय समितिले सभापति थापाको राजीनामाको तिनको मागलाई गम्भीरतापूर्वक पक्कै लिनेछैन । यस्तै सभापति थापाको राजीनामाको नैतिक मूल्य भएकाले कार्यसमितिले त्यसको उच्च मूल्याङ्कन गर्दै अस्वीकार गर्नुपर्छ । सभापति थापा र उनको पार्टीका नेताहरूसँग अब धेरै अलमल गर्ने समय छैन । हारको धुलो टकटक्याएर जुरुक्क उठिहाल्नुको विकल्प देखिँदैन । कांग्रेसका नाममा समानान्तर गतिविधि सुरु गरेर होइन महाधिवेशन गर्न गराउन सघाएर कांग्रेसको भलो हुनेछ । यसै पनि अहिले सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्व छाड्नु देश र पार्टीको हितमा हुँदैन । अहिले गगनले नेतृत्व छाडे भने देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दलको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । थापाले सकेसम्म छिटो महाधिवेशन गराएर नयाँ नेतृत्व चयनको मौका कार्यकर्तालाई दिनुपर्छ । महाधिवेशन प्रतिनिधिले नेतृत्व सुम्पे भने पार्टीलाई स्थानीय र प्रदेशको निर्वाचनमा सफल बनाउनुपर्छ । महाधिवेशनमा पनि हारे भने उनले नेतृत्वमात्र होइन राजनीति नै छाडे पनि हुन्छ ।
हारको कारण जनतासँगको दूरी
नेपाली कांग्रेसका हारका कारणहरूको फेहरिस्त उपसभापति विश्वप्रकाश शर्माले दिएका छन् । नेपाली कांग्रेसले केन्द्रीय समितिले यी बाहिर देखिएका प्राविधिक विषयहरूमा छलफल गर्ने नै छ । तर, हारको मूलकारण भने नेपाली कांग्रेसको प्रकृतिअनुरूप प्रवृत्ति कायम नरहनु हो भन्ने उपसभापति शर्माले स्पष्ट औँल्याएको देखिँदैन । नेपाली कांग्रेसमा २०४८ देखि नै कार्यकर्ता र नेताका बीचमा दूरी बढ्दै गएको देखिन्थ्यो । नेता र कार्यकर्ताबीच संवाद होइन निर्देशन र जाहेरीको सम्बन्ध कायम भएको थियो । अहिलेको हारमा सम्भवतः यो नै मूल कारण हो । कार्यकर्ताले पनि नेतालाई आफ्नो महत्त्व देखाइदिए । कार्यकर्ताबाटै टाढिन पुगेका नेता जनतासँग नजिकिने त प्रश्न नै भएन । उनीहरूलाई लाग्न थालेको थियो यति ठूलो पार्टीको नेता मलाईभन्दा यी मामुली जनता वा यी तल्लातहका कार्यकर्तालाई कसरी थाहा हुन्छ ? यसैले कांग्रेसका नेताले जनताका कुरा सुन्ने होइन उल्टै तिनका समस्या र समाधान सँगसँगै प्रेस्काइब गर्न थाले । यही प्रवृत्तिबाट आजित नेपाली जनताले पनि कांग्रेसलाई जनता कहाँ जाने र तिनका कुरा सुन्ने सल्लाह दिए । हारको मूल कारण यही हो । जमिनमा फर्क । कांग्रेस सीके प्रसाईले भनेजस्तै दुबो हो । जनतारूपी धर्तीसँग सम्पर्क हुनेबित्तिकै फेरि मौलाउनेछ ।
एकपटक त कार्यकर्तालाई मौका देऊ
महाधिवेशनपूर्व विधान संशोधन गर्नु उचित हुँदैन । यस्तै महाधिवेशन प्रतिनिधिको छनोटमा पुरानै विधि अपनाएर सार्थक परिवर्तन हुँदैन । एकपटक फेरि केन्द्रीय सभापतिलगायतका सबै आआफ्नो क्षेत्रबाट तहैसँग छानिएर आउने विधि अपनाउन सके सम्भवतः कार्यकर्ता र नेताबीचको दूरी कम हुनेछ । आत्मीयता बढ्नेछ । यसैगरी कार्यकर्तालाई आफ्नै खल्तीको सम्पत्ति ठान्ने मानसिकता पनि समाप्त हुनेछ । यो झट्ट हेर्दा महाधिवेशनको प्रक्रियाजस्तो मात्र देखिए पनि यसले पार्टीको संगठनलाई नयाँजीवन दिनसक्छ । अहिलेको कार्यसमिति यसै पनि तदर्थ समिति हो । यसमा यो पक्ष र अर्को पक्ष गरेर पुनः गुट खडा गर्ने वा गुटलाई औपचारिक मान्यता दिने मूर्खताले कांग्रेसको भलो हुँदैन रहेछ भन्ने त देखिसकियो नि ! बरु, सबैको चित्त बुझ्छ भने महाधिवेशन तयारीका लागि चुनाव नलड्नेहरूको समिति बनाएर जिम्मा देऊ । अनि महाधिवेशनले छान्ने नेतृत्व सबैले सहर्ष स्वीकार । नेपाली कांग्रेस होइन यो र त्यो गुट बिउँताएर राजनीतिक महन्त्याइँ गर्नेहरूको हातमा पार्टीको लगाम जान नदिन पनि सभापति गगनकुमार थापाले राजीनामा गर्नु हुँदैन ।
र अन्त्यमा
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा अप्रत्याशित बहुमत पाएको छ । सम्भवतः यही साता नै नयाँ सरकार गठन हुनेछ । नयाँ पार्टीका अपेक्षाकृत युवा नेताहरूमा उत्साह र उमङ्गका साथै विजयोन्माद पनि हुनु अस्वाभाविक होइन । तर, समय सजिलो छैन । जनतामा अपेक्षा धेरै बढेको छ भने राज्यको क्षमता निकै कम छ । छिटै ठूलै सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ । जितको उन्मादले रास्वपाका नेतालाई बढी एकलकाँटे बनाउन सक्छ । रास्वपाको मताधारजस्तो देखिने सामाजिक सञ्जालमा अहिलेदेखि नै दम्भ र द्वेष बढी देखिन थालेको छ । संवैधानिक राजनीतिमा रास्वपाको कति विश्वास छ भन्ने त सम्भवतः केही महिनाभित्रै स्पष्ट हुनेछ । तर नयाँ र पुराना सबै दलले राम्ररी बुझे हुन्छ लोकतान्त्रिक र प्रगतिशील भनिने दलका उमेदवारहरूले नराम्ररी हारे पनि लोकतन्त्र र प्रगतिशीलता हारेको होइन । नेताहरूले आफ्नो पार्टीको गुण कायम राख्न नसकेकाले जनताले अस्वीकार गरेका हुन् । अहिलेको जस्तो अवस्थामा नेपालको शान्ति र स्थिरताका लागि सरकारमाथि भारत र चीनको विश्वास तथा सद्भाव अनिवार्य हुन्छ । यसैले देशलाई लोकतन्त्र र अग्रगमनबाट विमुख गराउने प्रयास भयो भने मुलुक नै अर्को अस्थिरताको चक्रमा पर्नेछ ।
















