खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको समर्पणको भावना विकास गराउने छ : मुख्यमन्त्री बानियाँ
काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो महाधिवेशन–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले खेलकुदलाई स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणको आधारस्तम्भ भएको बताएका छन्। मुख्यमन्त्री बानियाँले खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको समर्पणको भावना विकास गराउने उल्लेख गरे। उनले तेक्वान्दो जस्तो मार्शल आर्ट खेलले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक दृढता र नैतिक अनुशासन पनि सिकाउने भएकाले यसको महत्व अझ विशेष रहेको बताए। मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको समग्र विकास, खेल पूर्वाधार विस्तार, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतिभावान खेलाडीको प्रोत्साहनमा निरन्तर प्राथमिकता दिँदै आएको स्पष्ट पारे। उनले प्रदेशका विभिन्न जिल्लामा खेलकुद गतिविधिलाई संस्थागत र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै खेलकुद संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे। उनले तेक्वान्दो खेलको विकासमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै दोस्रो महाधिवेशनले संगठनलाई अझ सुदृढ, एकताबद्ध र क्रियाशील बनाउने विश्वास व्यक्त गरे। साथै, खेलकुदमार्फत प्रदेश तथा राष्ट्रको गौरव बढाउन खेलाडी, प्रशिक्षक र खेलकुदकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सबैलाई समन्वय र सहकार्यसहित अगाडि बढ्न आग्रह गरे। उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले उत्कृष्ट खेलाडीहरूलाई बधाई दिँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले खेलाडीहरूको मेहनत, अनुशासन र उपलब्धिले समग्र प्रदेशकै प्रतिष्ठा उचो बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरे। उनले प्रतिभाशाली खेलाडीहरूको सम्मान र प्रोत्साहनले खेल क्षेत्रमा नयाँ पुस्तालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए भने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन अतिथिका रूपमा उपस्थित थिए।

समारोहमा विभिन्न खेलकुदकर्मी, प्रशिक्षक, पदाधिकारी, खेलाडी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति केशव पुरीले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको संगठनात्मक सुदृढीकरण, खेलाडी उत्पादन र प्रदेशस्तरमा तेक्वान्दोको विस्तारका लागि महाधिवेशन ऐतिहासिक अवसर भएको बताए। उनले खेलकुद क्षेत्रको दिगो विकासका लागि राज्यको साथ, खेलकुद संस्थाको सक्रियता र खेलाडीहरूको निरन्तर मेहनत आवश्यक रहेको धारणा राखे। नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो महाधिवेशन–२०८२ ले तेक्वान्दो खेलको संस्थागत विकास, नेतृत्वको सुदृढीकरण तथा खेलाडीमैत्री वातावरण निर्माणतर्फ नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। खेलकुदलाई प्रदेशको विकास र युवाको भविष्यसँग जोडेर अघि बढाउने सन्देशसहित सम्पन्न उद्घाटन समारोहले बागमती प्रदेशमा खेलकुदप्रतिको उत्साह र प्रतिबद्धतालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।
















