पूर्वमिस नेपाल उषा खड्गीको पारिवारिक विवाद छताछुल्ल
काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीले आफ्ना पूर्वपति तथा सञ्चारकर्मी जीपी तिमल्सिनासँगको पारिवारिक तथा सम्पत्ति विवादलाई सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल बनाएकी छन्। उनले लगातार पाँचवटा स्टाटस लेख्दै पूर्वपतिबाट आफूले निरन्तर मानसिक यातना र दुर्व्यवहार खेप्नुपरेको दाबी गर्दै न्यायको गुहार मागेकी हुन्। उषाका अनुसार अदालतले उनीहरूको घरलाई चार भागमा बाँडेर फैसला गरिसकेको छ। आफ्नो एउटा स्टाटसमा उनले घरमा चारजना अंशियार रहेको र आफू, छोरी, छोरा र पूर्वपतिको २५–२५ प्रतिशत हक लाग्ने प्रष्ट पारेकी छन्। तर, पूर्वपति तिमल्सिनाले सो घर आफ्नो मात्र भएको दाबी गर्दै उषालाई निस्केर जान निरन्तर दबाब र टर्चर दिइरहेको उनको भनाइ छ। यसै विषयमा आक्रोश पोख्दै उनले अर्को स्टाटसमा लेखेकी छन्, मलाई यो घरबाट निस्की, निस्केर जा भनेर टर्चर दिन्छ यो नामर्दले। अब यो घरबाट म निस्किने होइन, तँलाई निकाल्ने हो। तैँले सुरु गरिस्, म अन्त्य गर्छु। आफ्नो तेस्रो लामो स्टाटसमा उषाले पूर्वपतिको व्यवहारको पर्दाफास गरेकी छन्। सम्बन्धविच्छेदपछि पनि अर्को बिहे गरेर त्यही घरमा बस्दै आएका पूर्वपतिले बच्चाहरूको अगाडि नै निर्लज्ज भएर आफूलाई जथाभावी मुख छाड्ने गरेको उनले बताएकी छन्। माइतीका सदस्य वा साथीभाइ घरमा आउँदा पनि पूर्वपतिले नानाभाँती बोलेर डिस्टर्ब गर्ने गरेको उनको भनाइ छ।
अति भएपछि आफू बोल्न बाध्य भएको भन्दै उनले अदालतले अंशमा दिएको घरमा बस्दा पनि निरन्तर तनाव झेल्नुपरेको बताएकी छन्। उनले राज्यको कानुन र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै नयाँ सरकारसँग आफ्नो हकअधिकार र न्यायको माग समेत गरेकी छन्। यसैगरी चौथो स्टाटसमा उषाले पूर्वपतिकी हालकी पत्नीलाई लक्षित गर्दै आफ्नो श्रीमानलाई सम्हाल्न चेतावनी दिएकी छन्। पूर्वपतिले आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेप गर्दै गालीगलौज गरेको भन्दै उनले अब प्रहरी प्रशासनमा शान्ति सुरक्षाको लागि जानुको विकल्प नरहेको स्पष्ट पारेकी छन्। यी सबै तनाव र सङ्घर्षका बीच पनि उनले आफ्नो अर्को स्टाटसमा सिंगल मम एन्ड आइ प्राउड अफ माइसेल्फ (एकल आमा, र मलाई आफैँप्रति गर्व छ) लेख्दै आफू सन्तानको अधिकारका लागि बलियो भएर उभिएको बताएकी छन्। सन् २००० मा मिस नेपाल बन्नुअघि देखि नै प्रेम सम्बन्धमा रहेका उषा र जीपीबीच अन्तरजातीय विवाह भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्। १७ वर्ष लामो वैवाहिक जीवनमा निरन्तर शारीरिक र मानसिक यातना सहनुपरेको भन्दै उषाले २०७६ सालमा तिमल्सिनासँग सम्बन्धविच्छेद गरेकी थिइन्। त्यतिबेला पनि उनले अब म नो भन्छु भन्दै रुँदै गरेको भिडियो सार्वजनिक गर्दै आफ्नो अधिकारका लागि लड्ने बताएकी थिइन्।
















