प्रतिनिधिसभाको पहिलो बैठकमा समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् आजदेखि संसद् अधिवेशन सुरु हुँदै छ । प्रतिनिधिसभा बैठक दिउँसो २ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बस्ने तय छ । अधिवेशनको आरम्भमा दलीय आधारमा सम्बोधन गर्ने परम्परा छ । यस दिन सम्बोधनका निम्ति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २५ मिनेटको समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई १०, नेकपा (एमाले)लाई आठ मिनेट समय निर्धारण गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सात,सात मिनेट समय उपलब्ध गराइने तय छ । स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् । कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बे, एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने तय छ । यस्तै, नेकपाका तर्फबाट सांसद वर्षमान पुन, श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ । एक स्वतन्त्र सांसद महावीर पुनले पनि बैठकमा सम्बोधन गर्नेछन् । यसपालि प्रतिनिधिसभामा ६ दल र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *