बहराइनमा अमेजनको डाटा सेन्टरमा इरानी ‘मिसाइल वर्षा’

काठमाठौं । पश्चिम एसियामा जारी तनावका बीच इरानले बहराइनमा रहेको अमेजनको सबैभन्दा ठूलो टेलिकम कम्पनी ‘बटेलको’को मुख्यालयमा ड्रोन र मिसाइलद्वारा हमला गरेको छ । पहिलो नजरमा यो हमला कुनै टेलिकम कम्पनीमाथि भएको जस्तो देखिए पनि यसको भित्री कथा निकै डरलाग्दो छ । सोही भवनबाट विश्वको सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ कम्पनी ‘अमेजन वेब सर्भिसेज’को पूरा प्रणाली सञ्चालन भइरहेको थियो ।

पहिलोपटक अमेरिकी टेक कम्पनीमाथि इरानको हमला
इरानले प्रत्यक्ष रूपमा कुनै अमेरिकी प्रविधि कम्पनीको भौतिक पूर्वाधार र डाटा सेन्टरलाई निसाना बनाएको इतिहासमा यो पहिलो पटक भएको बताइएको छ । यस हमलापछि बहराइन र त्यस वरपरका देशहरूमा अस्तव्यस्तको वातावरण सिर्जना भएको छ । अमेजनको सर्भर डाउन भएका कारण धेरै ठूला कर्पोरेट नेटवर्क, स्थानीय बैंकिङ प्रणाली र एयरलाइन रिजर्भेसन प्रणाली अचानक ठप्प भएका छन् ।
बहराइनको गृह मन्त्रालयद्वारा पुष्टि
बहराइनको गृह मन्त्रालयले यो घटनाको पुष्टि गर्दै देशको ‘सिभिल डिफेन्स’ टोलीहरू घटनास्थलमा आगो निभाउने कार्यमा जुटेको जानकारी दिएको छ । यद्यपि, सुरक्षाका कारण सरकारले हालसम्म कम्पनीको नाम, यसबाट भएको क्षति वा हताहत भएको विषयमा आधिकारिक रूपमा खुलासा गरेको छैन ।
आईआरजीसीको चेतावनी
हालै इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी)ले अमेरिका र इजरायलसँग जारी युद्धका बीच अब अमेरिकी टेक कम्पनीहरूलाई निसाना बनाउने खुला चेतावनी दिएको थियो । इरानले यस क्षेत्रमा काम गरिरहेका ती सबै कम्पनीहरूलाई निसाना बनाउन सक्ने बताएको थियो जसको सम्बन्ध अमेरिकासँग छ । इरानले विशेष गरी माइक्रोसफ्ट, गुगल र एप्पल जस्ता कम्पनीहरूको नाम लिएर उनीहरूलाई सचेत गराएको थियो ।
अमेजनले के भन्यो ?
पश्चिम एसिया संकटपछि अमेजन सक्रिय मोडमा आएको छ । कम्पनीले गत हप्ता मात्रै आफ्नो क्लाउड ट्राफिकलाई अन्य सुरक्षित देशका डाटा सेन्टरहरूमा स्थानान्तरण गरिरहेको बताएको थियो । अमेजनको क्लाउड विङ ‘अमेजन वेब सर्भिसेज’ले यो युद्धका कारण बहराइनमा आफ्ना कार्यहरू नराम्ररी प्रभावित भएको स्वीकार गरेको छ । यद्यपि, यस हमलाले भविष्यको युद्ध अब जमिनको सीमामा मात्र सीमित छैन, बरु डिजिटल संसार पनि यसको प्रत्यक्ष चपेटामा भन्ने साबित गरिदिएको विश्लेषण गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *