‘ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीमा हुने

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण आगामी बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित कथानक फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको महोत्सव यसपटक मधेश प्रदेशको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकामा हुनेछ । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच सहमति भएको जनाइएको छ ।

“हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करण पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्मतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन् । तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका फिल्म महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । मनोनयन सूची आगामी साता घोषणा गरिने भएको छ । यसअघि गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा महोत्सव सम्पन्न भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *