निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । सोमबार बिहान काठमाडौंको अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन् । महासंघको गरिमालाई उच्च राख्दै निर्माण क्षेत्रको विकास र व्यवसायीको हकहितका निम्ति प्रतिबद्ध भएर लाग्ने उनीहरूले बताए । अधिवेशनबाट नयाँ कार्यकालका निम्ति नेतृत्व चयन गरिएको हो । शपथग्रहण कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, विभिन्न जिल्ला तथा प्रदेशका व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो । नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि नै आफ्नो कार्यभार सम्हाल्ने महासंघले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका हुन् ।

महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । कोसी प्रदेश उपाध्यक्षमा धीरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वाग्मती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन् । नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भएका छन् । आन्तरिक उपमहासचिवमा सन्तोष साह विजयी भएका छन् । महिलातर्फको उपाध्यक्षमा गंगा पोखरेल विजयी भएका छन् । कोषाध्यक्षमा उज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *