चेपाङ पहिचान संरक्षणमा मुख्यमन्त्री बानियाँको चासो

मकवानपुर । चेपाङ समुदायको पहिचान, भाषा र सांस्कृतिक अस्तित्व संरक्षण गर्ने उद्देश्यसहित स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग उठाइएको छ। यस सम्बन्धमा नेपाल चेपाङ संघको केन्द्रीय कार्यकारिणी समितिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको संघको प्रतिनिधिमण्डलले चेपाङ समुदायको बाक्लो बसोबास रहेका क्षेत्रलाई समेटेर नयाँ स्थानीय तह गठन गर्नुपर्ने र ती पालिकाहरूको नामकरण चेपाङ भाषामै गर्नुपर्ने माग अघि सारेको हो। संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङसहितको टोलीले चितवन, धादिङ र मकवानपुर जिल्लाका चेपाङ बाहुल्य वडाहरू समेटेर छुट्टाछुट्टै गाउँपालिका गठनको प्रस्ताव प्रस्तुत गरेको छ। प्रस्तावअनुसार चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ र २, कालिका नगरपालिकाका वडा नं. १० र ११ तथा राप्ती नगरपालिकाका वडा नं. १०, ११, १२ र १३ लाई समेटेर “झोरालाङ गाउँपालिका” गठन गर्न माग गरिएको छ। त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नं. ३ र ४ लाई समेटेर “रोराङ गाउँपालिका” निर्माण गर्न संघले आग्रह गरेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य पालिकामा गाभिने अवस्था आएमा हाल कायम रहेको चेपाङ भाषाको नाम यथावत राखिनुपर्ने माग पनि पत्रमार्फत गरिएको छ। यसैगरी, नेपालको संविधान २०७२ को धारा ५६ (५) अनुसार चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रलाई “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्नुपर्ने माग पनि उठाइएको छ। ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वमा सार्वजनिक बिदा दिँदै आएको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरेर समुदायको हितमा आवश्यक कदम चालिने प्रतिबद्धता जनाए। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या ८४ हजार ३६४ रहेको छ, जसको करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन्। मकवानपुर जिल्लामा मात्र १९ हजार २३३ चेपाङ समुदायका मानिस बसोबास गर्दै आएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *