उद्योग परिसंघले वमन लिडरसिप समिट आयोजना गर्ने

काठमाण्डौं । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा यही वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा हुने समिटको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । सम्मेलन आयोजनाको संयोजना सीएनआई वमन लिडरसिप फोरमले गरेको छ । बिहीबार परिसंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमा केन्द्रित रहने बताए । सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिवृद्धि, स्थानीय कृषि, सीप, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन तथा वर्तमान एवं सफल व्यावसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनीसमेत हुने उनले जानकारी दिए । सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलताका कथा प्रस्तुती, फोनपेसहित डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबीच नेटवर्किङ रहेको सीएनआई वमन लिडरसिप फोरमकी सभापति विदूषी राणाले बताइन् । सम्मेलनको मुख्यवक्ता गोल्यान ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्यान र विशिष्ट अतिथि प्रथम महिला सविना काफ्ले रहनेछन् । सम्मेलनले महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने विश्वास परिसंघले लिएको छ ।

सम्मेलनको प्रायोजकको रूपमा नबिल बैंक, आईएलओ, बोटलर्स नेपाल (कोका–कोला), लक्ष्मी बैंक, फोनपे, कुमारी बैंक र नोबेल मेडिकल कलेज रहेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजीक्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजस्व , पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समितिरपरिषद्रफोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिँदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *