स्थानीय निर्वाचनमा रास्वपाका आकांक्षी नैतिकवान हुनुपर्ने
काठमाडौं । रास्वपाले स्थानीय तहको निर्वाचनमा निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई उम्मेदवार छनोटको आधार बनाउने भएको छ । उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्यांकनको महत्वपूर्ण आधार बनाइने रास्वपाले जनाएको छ । स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा पूर्वाधारगत आवश्यकता बुझेका र जनस्तरमा भिजेका व्यक्ति पनि रास्वपाको छनोटमा पर्नेछन् । पार्टी निर्माणमा निरन्तर योगदान पुर्याएका निष्ठावान सदस्यहरु तथा समाजका विभिन्न क्षेत्रमा अब्बल साबित भएका विज्ञ, अनुभवी, ऊर्जावान् र जनविश्वास प्राप्त व्यक्तिको सन्तुलित तथा न्यायोचित मूल्यांकन गर्दै ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्तित्व’ छान्ने परिपाटी स्थापित गर्ने रास्वपाको प्रतिबद्धता छ । रास्वपाको उम्मेदवार छनोटको रुपरेखामा यी कुराहरु उल्लेख छन् । उम्मेदवार छनोट गर्दा समावेशिताको आधारमा गर्ने रास्वपाले जनाएको छ ।
महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, युवा, पिछडिएको क्षेत्र, श्रमिक, किसान, उद्यमी, पेशाकर्मी तथा समाजका विविध तहका नागरिकहरुलाई उम्मेदवारी प्रक्रियामा समान अवसर दिइने छ । त्यसबाट समाजको वास्तविक बहुविविधता प्रतिबिम्बित हुने नेतृत्व निर्माण हुने रास्वपाको विश्वास छ । उम्मेदवार स्थानीय तहमा कति लोकप्रिय छ र उसले निर्वाचन जित्ने क्षमता राख्छ कि राख्दैन भन्ने कुराको पनि परीक्षण गर्ने रास्वपाको उम्मेदवार छनोट रुपरेखामा उल्लेख छ । ‘सम्बन्धित क्षेत्रका पार्टी सदस्य, स्थानीय संरचना, समुदाय र नागरिकसँग उम्मेदवारको सम्बन्ध, स्वीकार्यता, जनविश्वास, संगठनात्मक क्षमता र निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने वास्तविक सम्भावनाको परीक्षण गर्ने,’ रुपरेखामा लेखिएको छ । रास्वपाले नेता केन्द्रित नभई, विधि केन्द्रित निर्णय संस्कृति विकास गर्ने, स्थानीय सरकारलाई परिणाममुखी बनाउने नेतृत्व तयार गर्ने, पार्टीको मूल्य–मान्यता एवं राष्ट्रिय दृष्टिसँग स्थानीय नेतृत्वलाई जोड्ने र निरन्तर सुधार र संस्थागन सिकाइ प्रणाली विकास जनाएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा प्रत्यक्ष मतदानमार्फत् जनप्रतिनिधि चुनिन्छन् । रास्वपाले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीहरुका लागि योग्यता, क्षमता र पारदर्शी मूल्यांंकनमा आधारित चरणबद्ध प्रक्रियासमेत अपनाउने जनाएको छ । सबैभन्दा पहिले उम्मेदवारका आकांक्षीले पार्टीको क्यान्डिडेट क्लबमा औपचारिक रुपमा आवेदन दर्ता गर्नुपर्ने छ ।
यो प्रारम्भिक चरणमा आकांक्षीहरुको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्यांक संकलन तथा परीक्षण गरिने छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘पालिका क्यान्डिडेट क्लब’ ‘वडा क्यान्डिडेट क्लब’ गरी दुई किसिमका क्यान्डिडेड क्लबहरु गठन हुनेछन् । ‘पालिका क्यान्डिडेट क्लब’मा पालिकाका प्रमुखरमेयर, उपप्रमुखरउपमेयर, अध्यक्षरउपाध्यक्ष पदका आकांक्षीहरुले आवेदन दिनेछन् । यसैगरी ‘वडा क्यान्डिडेट क्लब’मा वडाध्यक्ष र वडासदस्य पदका आकांक्षीहरुले आवेदन दिन सक्ने रास्वपाले जनाएको छ । यसमा आवेदन दिन चाहनेहरुले नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, रास्वपाको विधान र स्थानीय तहका उम्मेदवार छनोटका विश्वव्यापी मान्यताबारे थाहा हुनुपर्नेछ । साथै आकांक्षीहरुले शैक्षिक प्रमाणपत्रको सही रहेको, वैवाहिक अवस्था वैध रहेको वा विवादित नभएको, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, साइबर बुलिङ नगरेको, ठगीमा संलग्न नभएको, मिटरब्याज, सहकारी संस्थाको बचत रकम अपचलन नगरेको लगायतका विषयमा संलग्न नभएको स्वघोषणा पनि गर्नुपर्ने छ । साथै आकांक्षीहरु पार्टी सदस्यता प्राप्त गरेको कम्तिमा ४५ दिन पूरा भएको हुनुपर्ने कुलिङ परियडको व्यवस्था समेत गरिएको छ । अन्य दलबाट रास्वपा प्रवेश गरेको भए पार्टी सदस्यता लिएको कम्तिमा ९० दिन पूरा भएको हुनुपर्ने छ ।
















