प्रधानन्यायाधीशमा भएको सिफारिसबारे आकस्मिक बैठक बसेर समान धारणा बनाउँदै बार
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको छ । बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ ।
उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ । “बारले शुक्रबार नै सल्लाहाकारको बैठक डाकेको छ । सल्लाहकारको राय सुझावका आधारमा के गर्ने धारणा आउँछ,” कोइरालाले भने । बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । निर्णयमा असन्तुष्टि जनाउँदै परिषद् सदस्य रहेका राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।















