भाषा दिवसले विविधताभित्रको नेपाली एकतालाई अझ बलियो बनाएको छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषिक विविधताको सम्मान गर्दै मातृभाषाको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। भाषा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले “प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०” कार्यान्वयन हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका हुन्। उनले बागमती प्रदेशमा बसोबास गर्ने विशेषगरी तामाङ र नेपाल भाषा (नेवारी) बोल्ने समुदायसहित सम्पूर्ण भाषाभाषी नागरिकहरूलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री बानियाँले नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रूपमा स्वीकार गरेको स्मरण गराउँदै भाषा र संस्कृतिको संरक्षण गर्ने अधिकार सुनिश्चित गरिएको बताएका छन्। सोही संवैधानिक मर्मअनुसार बागमती प्रदेश सरकारले नेपाली भाषासँगै तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको उनको भनाइ छ। उनले नेपाली, तामाङ, नेपाल भाषा लगायतका मातृभाषाहरूले नेपालको सामाजिक विविधता र समृद्ध परम्परालाई जीवन्त राख्दै आएको उल्लेख गर्दै यी भाषाहरूको संरक्षण र विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। मुख्यमन्त्री बानियाँले “प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०” जारी गरेर बहुभाषिक नीतिलाई व्यवहारमा उतारिएको उल्लेख गर्दै मातृभाषाको सम्मान, शिक्षा र प्रयोगलाई अझ विस्तार गर्न प्रदेश सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिए। उनका अनुसार यस ऐतिहासिक पहलबाट विशेषगरी तामाङ र नेवार समुदायसहित सम्पूर्ण प्रदेशवासीले आफ्नै मातृभाषामा सरकारी सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित भएको छ। यसले नागरिक र सरकारबीचको सम्बन्धलाई थप सुमधुर, जनमुखी र सेवामुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *