नेपाल बैंकले ल्यायो २० वर्षे ‘घडेरी कर्जा’ योजना
काठमाडौँ । नेपाल बैंक ले सर्वसाधारणलाई लक्षित गर्दै आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्गा खरिद गरी आफ्नै घर निर्माण गर्ने सपना देखिरहेका ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यसहित बैंकले उक्त योजना सञ्चालनमा ल्याएको जनाएको छ । ‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने मूल नारासहित सुरु गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले अब सहज रूपमा जग्गा खरिदका लागि कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार यस कर्जा योजनाको प्रमुख विशेषता लामो भुक्तानी अवधि रहेको छ । ग्राहकले लिएको कर्जा अधिकतम २० वर्षभित्र भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसबाट मासिक किस्ताको भार कम हुने तथा मध्यमवर्गीय परिवारलाई जग्गा खरिद गर्न थप सहज हुने विश्वास बैंकको छ । त्यस्तै, सरल र झन्झटमुक्त प्रक्रियामार्फत सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले उल्लेख गरेको छ । बैंकले यो सेवा देशभर रहेका आफ्ना सबै शाखामार्फत उपलब्ध गराउने जनाएको छ ।
















