सुजुकीको पहिलो विद्युतीय एसयूभी ‘ई-भितारा’ को देशभर डेलिभरी सुरू
काठमाण्डौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘ई-भितारा’को देशभर औपचारिक डेलिभरी सुरु गरेको छ। कम्पनीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीको रूपमा रहेको यस गाडीले नेपाली बजारमा सुजुकीको उपस्थितिमा एक महत्त्वपूर्ण कोसेढुङ्गा थपेको कम्पनीले जनाएको छ । जापानी इन्जिनियरिङ, उन्नत विद्युतीय प्रविधि र उत्कृष्ट सुरक्षा सुविधाहरूका कारण यो गाडीले सार्वजनिक हुनुअघि नै देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिसकेको छ। हाल बुकिङ भएका युनिटहरूको डेलिभरी सुजुकीका आधिकारिक डिलर सञ्जालमार्फत धमाधम भइरहेको कम्पनीले जनाएको छ। नयाँ गाडी सार्वजनिक भएको उपलक्ष्यमा सीजी मोटोकर्पले पहिलो १०० वटा बुकिङका लागि विशेष ‘इन्ट्रोडक्टरी’ मूल्य सार्वजनिक गरेको छ। जसअन्तर्गत ४८.८ किलोवाट आवर ब्याट्री क्षमता र ४४० किलोमिटर रेन्ज भएको भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ग्राहकले ३ लाख रुपैयाँ बचत गर्न सक्नेछन्।
त्यसैगरी, ६१.१ किलोवाट आवर ब्याट्री क्षमता र ५४३ किलोमिटर रेन्ज भएका अन्य भेरियन्टहरूको मूल्य ५३ लाख ९९ हजारदेखि ६० लाख ४९ हजार रुपैयाँसम्म कायम गरिएको छ। यी भेरियन्टहरूमा ग्राहकले ४ लाख रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्नेछन्। सुजुकीले आफ्ना ग्राहकको सहजता र भरपर्दो सेवाका लागि देशभर रहेका २५ वटा आधिकारिक बिक्री केन्द्र र ४० वटा सर्भिस सेन्टरहरूलाई परिचालन गरेको छ। सुनिश्चित स्पेयर पार्ट्सको उपलब्धता, प्रशिक्षित प्राविधिक जनशक्ति र सुदृढ सेवा सञ्जालका कारण ई-भिताराको स्वामित्व अनुभव सहज र दीर्घकालीन रूपमा कम लागतको हुने कम्पनीको दाबी छ। बजारमा धेरै नयाँ विद्युतीय गाडीहरू भित्रिरहेको समयमा सुजुकीले आफ्नो दशकौँको विश्वास, राष्ट्रिय स्तरको सेवा पहुँच र प्रमाणित क्षमताका आधारमा ग्राहकलाई उत्कृष्ट सेवा र मजबुत फाइदा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
















