बागमतीमा कांग्रेसको ३३ बुँदे ‘संकल्प’ः सुशासनदेखि रोजगारीसम्मका कार्यक्रम अघि सार्ने घोषणा

धुलिखेल । नेपाली कांग्रेसको नेतृत्वमा रहेका बागमती प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले ३३ बुँदे ‘बागमती संकल्प–०८३’ जारी गरेका छन् । दुईदिने परामर्श कार्यशालापछि जारी संकल्पमा सुशासन, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगार र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा पार्टीका विभिन्न तहका पदाधिकारी सहभागी थिए । कार्यशालापछि जारी संकल्पपत्रमा स्थानीय सरकारलाई थप नागरिकमैत्री, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । संकल्पपत्रमा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्दै जवाफदेही सरकार सञ्चालन गर्ने, असल शासन र विधिको शासनलाई मजबुत बनाउने तथा स्थानीय तहका सफल अभ्यासलाई अन्य स्थानीय तहमा विस्तार गर्ने उल्लेख गरिएको छ । साथै, स्थानीय सरकारबाट प्रदान हुने सेवालाई थप सरल र प्रभावकारी बनाउने तथा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, दीर्घरोगी र विपन्न समुदायलाई घरदैलोमै सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । प्रदेश तथा स्थानीय तहले बजेट निर्माण प्रक्रियालाई तथ्यमा आधारित र परिणाममुखी बनाउने, ‘शून्य बेरुजु स्थानीय तह’ अभियान सञ्चालन गर्ने तथा वित्तीय अनुशासन कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

संकल्पपत्रमा विदेशबाट फर्किएका युवालाई स्थानीय विकास र उद्यमसँग जोड्न ‘जन्मभूमि समृद्धि विशेष अभियान’ सञ्चालन गर्ने, रोजगार बैंक र उद्यम मेला आयोजना गर्ने तथा महिलाका परम्परागत सीपलाई उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । शिक्षातर्फ स्थानीय कला, संस्कृति र भाषालाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्ने, विद्यालयको डिजिटल प्रणाली विकास गर्ने तथा गुणस्तरीय शिक्षामा लगानी बढाउने नीति लिइएको छ। स्वास्थ्य क्षेत्रमा ‘सबैलाई स्वास्थ्य बीमा’ अभियानलाई प्रभावकारी बनाउने, घरआँगनमै स्वास्थ्य सेवा विस्तार गर्ने तथा ग्रिन सिटी, हेल्दी सिटी अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ । संकल्पपत्रमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्ने, जोखिम क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्ने तथा सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि सार्दै धार्मिक, सांस्कृतिक, साहसिक र पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्ने नीति लिइएको छ। ‘आध्यात्मिक पर्यटन पथ’ विकास, होमस्टे विस्तार, पर्यटकीय पूर्वाधार निर्माण तथा डिजिटल गाइड प्रणाली स्थापना गर्ने योजना पनि संकल्पमा समेटिएको छ ।
विपद् व्यवस्थापनतर्फ बागमती प्रदेशलाई सुरक्षित र विपद् प्रतिरोधी प्रदेश बनाउने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने, स्थानीय विपद् व्यवस्थापन कोष स्थापना गर्ने तथा जैविक इन्जिनियरिङलाई सडक निर्माणमा अनिवार्य गर्ने घोषणा गरिएको छ । कार्यक्रमको अन्त्यमा नेपाली कांग्रेसले संघीयता, सहकार्य र सहअस्तित्वको भावनाअनुसार प्रदेश र स्थानीय सरकार सञ्चालनमा थप सक्रिय रहने तथा पार्टी संगठन सुदृढीकरणका लागि डिजिटल अभिलेखीकरण अभियानलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको छ । कार्यशालाको उद्घाटन सोमबार धुलिखेलमा पार्टी सभापति गगन थापाले गरेका थिए । कार्यक्रमको संयोजन जिल्ला समिति काभ्रेले गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *