काभा महिला भलिबलमा लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा
काठमाडौं । लगातार दोस्रो जितसँगै नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद प्ररिषद् (राखेप)को कभर्डहलमा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो । नेपालले खेल २५–१२, २५–९, २५–२० ले आफ्नो पक्षमा पार्यो । जितसँगै तीन खेलमा सात अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन रह्यो । यसअघि भारतसँग ३–२ को सेटमा पराजित भएको नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । माल्दिभ्स कीर्गिस्तान र भारतसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो ।










