तनावपछि अघि बढाइयो रास्वपा बारा अधिवेशन प्रक्रिया
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा विवादपछि पुनः अधिवेशन प्रक्रिया सुरु गरिएको छ । जेठ ९ बसेको विस्तारित बैठक व्यवस्थापन गर्न नसक्दा उत्पन्न विवादपश्चात् पुनः अधिवेशन प्रक्रिया थालिएको हो । शनिबार बाराको कलैयामा आयोजित रास्वपाको विस्तारित बैठकमा दुई पक्षबीच होहल्लासँगै भनाभनकै स्थिति सिर्जना भएको थियो । रास्वपाका जिल्ला संयोजक चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी केही दिनअघि कारबाही गरेको थियो । जिल्ला कार्यसमितिको अधिवेशन र विस्तारित बैठकअगावै आफूलाई षड्यन्त्रपूर्वक पार्टीको साधारण सदस्यबाट हटाइएको भन्दै स्वर्णकार समूह असन्तुष्ट थियो । पार्टीले ‘सर्कुलर’ जारी गरेपछि बाराबाट निर्वाचित सांसद रहबर अन्सारी, गणेश धिमाल, चन्दन सिंह र अरविन्द साह शनिबार त्यहाँ पुगेका थिए । तर, साघुँरो बैठककक्षभित्र दुई समूहबीच होहल्ला र विवाद बढेपछि चारै सांसदलाई प्रहरीले सुरक्षित स्थानमा लगेको थियो ।
“वडा, पालिका र जिल्ला अधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । हिजो ढिलो गरी बैठक सम्पन्न गरेर अधिवेशन प्रक्रिया अघि बढिसकेको छ,” सांसद धिमालले भने । जिल्ला कार्यसमितिमा आकांक्षी र कार्यकर्ता धेरै भएकाले उक्त विवादलाई सामान्य रूपमा लिनुपर्नेमा रास्वपाका नेताहरूले जोड दिएका छन् । आउँदो असार ७, ८ र ९ गते रास्वपाको केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिँदै छ । त्यसनिम्ति यति बेला देशभर वडा, पालिका, जिल्ला अधिवेशन भइरहेको छ । यही जेठ २३ र २४ जिल्ला अधिवेशन गर्ने मिति तय छ । त्यसपछि रास्वपा प्रदेश अधिवेशन जेठ २६ गते वाग्मतीबाट थालिनेछ । जेठ २७ मा कोसी, २८ मा मधेस, २९ मा गण्डकी, ३० मा लुम्बिनी, ३१ गते कर्णाली प्रदेशमा अधिवेशन आयोजना गरिनेछ । सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गते गर्ने तय छ ।










